कांग्रेसभित्र सहमति खोज्दै देउवा, पौडेलले दिए ठाडाे जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेर सहमतिको प्रयास गरेका छन् ।

काठमाडौंको बोहराटारस्थित वरिष्ठ नेता पौडेलको निवासमा शनिबार पुगेका देउवाले सहमतिका लागि सहयोग गर्न आग्रह गरेका थिए । देउवा र पौडेलबीच वार्ता समिति गठन गरेर सोही समितिमार्फत विवाद मिलाउने सहमति भएको थियो ।

देउवाको तर्फबाट वार्ता समितिमा विमलेन्द्र निधि र पौडेलको तर्फबाट नेता प्रकाशमान सिंह तोकिएका छन् ।

बोहराटारको भेटघाटमा सभापति देउवालाई वरिष्ठ नेता पौडेलले १४औं महाधिवेशनको कार्यतालिकालाई बैठकको एजेण्डा नबनाएसम्म आफू केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुन नसक्ने जवाफ दिएका थिए ।

नेता पौडेल र कृष्णप्रसाद सिटौलाले बिहीबारदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका थिए । उनीहरूले महाधिवेशनको कार्यतालिका एजेण्डाको रुपमा आउनुपर्ने माग गर्दै आएका छन् ।

पौडेललाई देउवाले ‘रामचन्द्रजी तपाई मेरो सहकर्मी र नजिकको साथी पनि हो’ भन्दै पार्टीमा सहयोग गर्न आग्रह गरेका थिए ।

‘पार्टीमा केन्द्रीय सदस्यहरूको संख्या पनि ठूलो छ । सबैलाई मिलाएर जिम्मेवारी बाँडफाँट गर्न मलाई अब विभागको केही संख्या बढाएर विभाग गठनको लागि तपाईले सहयोग गर्नु पर्‍यो’, सभापति देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘भ्रातृ संस्थाहरूको नेतृत्व अभावमा संगठन प्रभावित भएकाले तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) गठनका लागि पनि तपाईले सहयोग गर्नुपर्‍यो ।’

सभापति देउवाले आफू महाधिवेशन गर्ने कुरामा असहमत नरहेको बताएका छन् । देउवाले पौडेललाई विधानको दफा ७२ (४) बमोजिम अन्तरिम संरचना बनाउन राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई जिम्मा दिएको स्मरण गराएका थिए ।

सभापति देउवाले पौडेललाई विधान बमोजिम समायोजनको प्रक्रिया टुंगो नलागेसम्म निर्वाचन समितिले कार्यतालिका बनाउन नसक्ने जानकारी गराएका थिए ।

भेटवार्तामा सभापति देउवाले उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य हृदयराम थानीको सहभागिता रहेको थियो ।

पौडेलको तर्फबाट नेता प्रकाशमान सिंह, दिलेन्द्रप्रासद बडु र हृदयराम थानीले देउवा समूहको वार्ता टोलीसँग परामर्श गर्नेछ ।

सभापति देउवाले तत्काल बैठकमा पेश भएको एजेण्डा अनुरुप पार्टीका विभागहरू गठन तथा नेविसंघ, तरुण दल लगायतका भातृ संस्थाको गठन, विस्तारबारे सहमति खोजेका थिए ।

Published : Saturday, 2019 December 14, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया