कम्युनिस्टहरूले संविधान मिच्ने खेल गरेपछि कांग्रेसद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले संविधानलाई समाप्त पार्ने गरेर हर्कत गरेको भन्दै आक्रोश पोखेको छ ।

नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरेर कम्युनिस्ट सरकारले संवैधानिक परिषदको कार्यविधि परिवर्तन गरेर संविधान उल्लंघनको गृहकार्यमा लागेको जनाएको हो ।

‘संवैधानिक परिषदको गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डित गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्त माथिनै आघात पु¥याएर प्रकारान्तरले संविधानलाई समाप्त पार्ने कुत्सित मनसायसाथ सरकारले संवैधानिक परिषद् सम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोज्दैछ’, नेपाली कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘मन्त्रिपरिषदले केही अघि राष्ट्रपति समक्ष प्रस्तुत गरेको यस सम्बन्धी अध्यादेशले यसको पुष्टि गरेको छ’, नेपाली कांग्रेसले जनाएको छ ।

‘प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्दे्शित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिहरूलाई राजनैतिक पूर्वाग्रहका आधारमा लाञ्छित गर्ने, झुठ्ठा मुद्दा चलाउने गरी संवैधानिक आयोग जस्ता गरिमामय संस्थाहरूलाई दुरुपयोग गर्न सक्ने खतरालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘यसरी दुराग्रह र बद्नियत राखी कोही कसैमाथि पनि गरिने कुनै पनि प्रकारका गैर संवैधानिक र प्रतिशोधपूर्ण कार्यको प्रतिवाद नेपाली कांग्रेसले गर्ने चेतावनी यो बैठक सरकारलाई दिन चाहन्छ’, नेपाली कांग्रेसले भनेको छ ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संवैधानिक परिषदको कार्यविधि परिवर्तन गर्ने खेलमा लागेपछि नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।

कम्युनिस्टहरूले संविधानिक परिषदलाई कब्जा गरेर आफूअनुकूल निर्णय गरेर जान खोजेको नेपाली कांग्रेसको आरोप छ ।

Published : Friday, 2019 December 13, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया