उपनिर्वाचनपछि कांग्रेसकाे ‘दाउँ’ चम्कियाे, जिल परे कम्युनिस्टहरू

बिर्तामोड । झापा जिल्लाको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थामा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूह विजयी भएको छ ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष खड्गप्रसाद ओलीको गृहजिल्ला झापामा खानेपानी समितिमा लोकतान्त्रिक समूहले पूरै कब्जा जमाएको हो ।

लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार जलकुमार गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय ५० मतअन्तरले विजयी भएका छन् । गुरुङले १ हजार ७ सय ४ मत प्राप्त गरेका छन् ।

नेकपा निकटको संयुक्त प्रगतिशील समूहबाट अध्यक्षका उम्मेदवार ज्ञानुराम प्रसाइँले ९ सय २० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पर्शुराम सिटौलाले १ हजार ६ सय ३७ मत प्राप्त गर्दा बुद्धिप्रसाद घिमिरेले ९ सय १८ मत ल्याएका छन् । सचिवमा मेघराज बास्तोलाले १ हजार ७ सय ३८ मत प्राप्त गर्दा जनबहादुर जवेगुले ८ सय ३८ ल्याए ।

कोषाध्यक्षमा सारदा रिजालले १ हजार ५ सय १० मत ल्याउँदा कमलप्रसाद पौडेलले १ हजार सय ४७ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यतर्फ देवेन्द्र सिटौलाले १ हजार ६ सय ६७ मत र पारसमणि मैनालीले १ हजार ५ सय ९४ मत ल्याउँदा संयुक्त प्रगतिशील प्यानलका शंकरराज ढुङ्गेलले ८ सय ९० मत र श्रीप्रसाद सिटौलाले ८ सय ९३ मत प्राप्त गरेका छन् ।

महिला सदस्यतर्फ लोकतान्त्रिक समूहबाट माया प्रधान खड्गीले १ हजार ६ सय २०, सीतादवी काफ्लेले १ हजार ५ सय ७९ र बालादेबी खरेलले १ हजार ५ सय ८७ मत ल्याउँदै विजयी भएका छन् ।

कम्युनिस्टहरूको संयुक्त प्रगतिशीलकी सीता सापकोटा पौडेलले ९ सय ५०, बिनिताकुमारी राजवंशीले ९ सय २२ र हिमादेवी प्रसाइँले ९ सय ५२ मत प्राप्त गरेकी छिन् ।

कुल मत २ हजार ८ सय १ गणना हुँदा १२८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

उपनिर्वाचनमा पनि नेपाली कांग्रेसले सत्तारुढ नेकपालाई महत्वपूर्ण स्थानहरूमा हराएको थियो । उपनिर्वाचनपछि नेपाली कांग्रेसलाई दाउँ लागेको चर्चा हुन थालेको छ ।

Published : Friday, 2019 December 13, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया