पूर्वमाओवादी भीआईपी नेताकी छोरीको हाइप्रोफाइल विवाह, कार्यकर्तालाई निषेध

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री जनार्दन शर्माले आफ्नी छोरी कविता शर्माको विवाह ललितपुरको एउटा सुविधासम्पन्न ब्याङ्केटमा गरिदिएका छन् ।

माओवादी पृष्ठभूमि भएका नेता शर्माले शनिबार ललितपुरका सानेपा (झम्सीखेल)स्थित हेरिटेज ब्याङ्केटमा छोरी कविता शर्माको विवाह गरिदिएका हुन् ।

विवाहमा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कम्युनिस्ट सरकारका मन्त्री, उच्च कर्मचारी, सुरक्षा निकायका प्रमुख, व्यापारी, परिवारका सीमित व्यक्तिलगायतलाई मात्रै बोलाइएको थियो ।

शर्माले आफ्नी छोरीको विवाह चितवन घर भएका आलोकप्रताप राणासँग विवाह गरिदिएका हुन् । विवाहमा शर्माले आफ्नी छोरी कवितालाई सुनका गहनाले ढपक्कै छोपिदिएका थिए ।

विवाहमा तत्कालीन माओवादीका साधारण कार्यकर्ताहरूलाई विवाहको पार्टीमा प्रवेश रोक लगाइएको थियो । विवाहमा हाइप्रोफाइल व्यक्तिहरूलाई मात्रै निम्तो दिइएको थियो ।

विवाह भोगमा महँगा र मिष्ठान परिकारहरू राखिएका थिए । थरिथरीका मासुदेखि अन्य थुप्रै खानेकुराहरू रहेको विवाहमा सहभागी एकजनाले बताए ।

हेरिटेज ब्याङ्केटमा यसअघि नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेलले आफ्नो छोराको विवाह गरिदिएका थिए । यो ब्याङ्केटमा हाइप्रोफाइल व्यक्तिहरूले विवाह, वर्तबन्धन लगायतका कार्यक्रम राख्ने गर्छन् ।

नेकपाका नेता शर्माले एकजना को खानाको पैसा झण्डै दुई हजारका दरले तिरेको स्रोतले जनाएको छ ।

ललितपुरको महँगो कलेज क्यारेबियनमा कविता र आलोकले सँगै पढेका हुन् । कलेज पढ्ने क्रममा उनीहरूका बीच प्रेम भएको थियो ।

आलोक सातदोबाटोस्थित एउटा निजी कलेजमा एमबीए पढेका छन् । आलोक अमेरिकाको टेक्सासमा पढ्न गए । नेकपाका नेता शर्माकी छोरी कविता पनि उतै लागिन् ।

गरिव जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर माओवादीको डेपुटी कमाण्डर नै बनेका नेता शर्माले आफ्नी छोरीको पढाइ र विवाहमा यति धेरै खर्च गरेको देख्दा अन्य पाहुनाहरूले ‘कम्युनिस्टहरूको नाटक’ भनेर टिप्पणी गरेका थिए ।

नेता शर्मा डेपुटी कमाण्डर भएका बेला उनकै मातहतमा सुरक्षाकर्मीसँग भिडन्त गरेका सल्यान जिल्ला घर भएका एकजना पूर्व लडाकुले भने, ‘हामी साधारण कार्यकर्ताहरूलाई निम्तो दिइएन । हाइप्रोफाइल व्यक्तिहरूलाई जनार्दन शर्माले छोरीको विवाह खान बोलाउनुभयो । १७ हजार जनताको ज्यान जाने गरेर गरिएको कथित जनयुद्ध बेकार रहेछ ।’

Published : Sunday, 2019 December 8, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया