कांग्रेस हराउन सडकमा आएका घरबेटीका डोजरहरू कब्जा हुन्छन्ः सभापति थापा

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले प्रदेशतर्फको निर्वाचनमा कृष्णलाल भँडेललाई विजयी बनाएर भक्तपुरका जनताले दुईतिहाइको कम्युनिस्ट सरकारलाई दम्भ छाड्न निर्देशन दिएको बताएका छन् ।

आइतबार मतगणनाको अन्तिम परिणाम सार्वजकि भएपछि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले भक्तपुरमा आयोजना गरेको संयुक्त विजय सभालाई सम्बोधन गर्दै थापाले निर्वाचनमार्फत जनताले कम्युनिस्टहरूको दम्भ तोडिदिएको बताए ।

‘निर्वाचनका क्रममा कम्युनिस्टहरूमा जुन खालको दम्भ थियो त्यो दम्भ हिजोबाट निर्वाचनमार्फत तोडेका छौँ । यो दम्भलाई तोड्ने कार्यलाई निरन्तरता दिनेछौँ’, उनले भने, ‘देशमा दुईतिहाइको सरकार छ । प्रदेशमा पनि कम्युनिस्ट सरकार छ । अधिकांश स्थानीय तहमा पनि कम्युनिस्ट सरकार छ ।’

‘कम्युनिस्टहरूले विगतमा निर्वाचनमा जसलाई जागिर खुवाउँछु भन्नुभएको छ । उनीहरूले कांग्रेसलाई साथ दिनुस् । झुठ बोल्ने कम्युनिस्टहरूलाई घाँटीमा समातेर जनताका माझ उभ्याउने छौँ’, सभापति थापाले भने, ‘निर्वाचनको बेलामा झुठो बोल्न पाइँदैन ।’

भक्तपुरमा निर्वाचनमा मतदाताहरूलाई प्रभावित बनाउन सडकमा डोजर चलाएर आँखामा छारो हाल्न खोजेको भन्दै सभापति थापाले निर्वाचनका बेला सडकमा चलाइएका डोजरहरूलाई काम पूरा नहुँदासम्म फिर्ता गर्न नदिने बताए ।

‘अब भक्तपुरमा कुनै डोजर चल्नेवाला छैन । जहाँ–जहाँ डोजर चलेका छन् । जहाँ ठेक्का लागेका छन् त्यसलाई निरन्ततार दिने काम नेपाली कांग्रेसले गर्नेछ’, उनले भने, ‘प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ कन्ट्रक्सन किन नहोस् सबैलाई कांग्रेसले काम गर्न दवाव दिनेछ ।’

‘यहाँका बाटोघाटो नबनेसम्म कुनैपनि ठेकेदारलाई छाड्ने छैनौं । निर्वाचनका बेला जहाँ जहाँ डोजर चलेका छन् ती डोजरहरूलाई कब्जा गरेर राख्नुस्’, उनले भने, ‘डोजर कब्जा गरेर गाउँ, ठाउँ र बस्तीको विकास नेपाली कांग्रेसको नेतृत्वमा हुन्छ । रातारात बाटो बनाउन आउने ठेकेदार खबरदार । घरबेटी ठेकेदार खबरदार । अधुरा कामलाई छाड्ने छैनौँ ।’

‘दुई महिनाभित्र नगरकोटको सडक सम्पन्न भएन भने ती डोजरहरू कब्जा हुनेछन् । सात वर्षसम्म नबनेको बाटो भोट लिने नाममा रातारात डोजर लगाइएको छ’, उनले भने ।

‘निर्वाचनका बेला नेकपाका अरिँगाल र छौडाहरूले आतंकित पर्ने काम भएको छ । डरधम्कीबाट कब्जा गर्न खोजिन्छ भने प्रतिकार गरिनेछ’, सभापति थापाले भने, ‘अरिँगालहरू मासु, भारत र बियर खाएर दुई दिन अगाडि होटेलमा बसेका थिए । तपाईहरूले खाएको मासु, भारत र बियरभन्दा जनताको मत अति बलियो छ ।’

‘आफै पैसा बाँड्ने । अनि नेपाली कांग्रेसले पैसा बाँड्यो भनेर आरोप लगाउने । नेपाली कांग्रेसले पैसा बाँडेर जित्ने पक्षमा छैन’, उनले भने, ‘यी सुन्निएका कम्युनिस्टहरू अर्को निर्वाचनसम्म नेपाली कांग्रेसले निचोरेर, घिसारेर साइजमा ल्याउनेछ ।’

‘भ्रष्टाचार गरेर कम्युनिस्ट सुन्निएका हुन् । यो निर्वाचन महँग, भ्रष्टाचार, सरकारको ज्यादतीका विरुद्ध हो’, उनले भने ।

‘सरकार टिचिङ हस्पिटलको बेडमा भएपनि सच्चिनुपर्छ । सरकार सिङगापुर र स्वीजरल्याण्ड भएपनि सच्चिनुपर्छ । सरकार अमेरिकाको अस्पतालमा भएपनि सच्चिनुपर्छ’, सभापति थापाले भने, ‘सरकारले जनताको पक्षमा काम गर्नुपर्छ । निर्वाचनले यहि आदेश दिएको छ ।’

नेपाली कांग्रेसका नेता एवम् भक्तपुर क्षेत्र नम्बर १ ‘क’बाट नवनिर्वाचित प्रदेश सांसद कृष्णलाल भँडेलले आफू सधैँ जनताको दाजुभाईका रुपमा जनताका माझमा रहेर काम गर्ने बताए । ‘मलाई प्रदेश सांसदका रुपमाभन्दा पनि आफ्नो दाजुभाईका रुपमा लिनु होला’, उनले भने, ‘हाम्रो क्षेत्रको विकासका लागि सधैँ लाग्नेछु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का केन्द्रीय सदस्य रविन्द्रप्रताप शाहले कम्युनिस्टहरूले अपांग देख्ने राप्रपा (संयुक्त)ले ढोकाको चुकुल खुस्काइदिएको बताए । उनले भक्तपुरबाट कम्युनिस्टहरूको पतन शुरु भएको बताए ।

भक्तपुर क्षेत्र नम्बर १ ‘क’को अन्तिम परिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेस र राप्रपा (संयुक्त)ले भक्तपुरमा विजयी सभा गरेको थियो ।

विजयी सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, नेपाली कांग्रेसका नेता गणेश लामा, राप्रपा (संयुक्त)का भक्तपुर अध्यक्ष रामशरण लामिछानेलगायतका हजारौँ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

 

Published : Sunday, 2019 December 1, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया