कांग्रेसका केन्द्रीय सदस्य गिरीद्वारा मतदान, कांग्रेसले देशभरि जित्छ

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले दाङ क्षेत्र नम्बर ३ ‘ख’मा प्रदेशतर्फको उपनिर्वाचनमा मतदान गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले शनिबार बिहान सात बजे मतदान गरेका हुन् ।

दङ्गीशरण गाउँपालिकाको वडा नम्बर ४ स्थित रात्रि निमावि बैबाङमा नेता गिरीले मतदान गरेका हुन् । उनले पहिलो मतदातका रुपमा मतदान गरेका हुन् ।

मतदान गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै नेता गिरीले देशभरि लोकतन्त्रको जित हुने बताए ।

‘कम्युनिस्टहरूबाट जनता आजित बनेका छन्’, उनले भने, ‘नेपाली कांग्रेसको जित सुनिश्चित छ । सधैँ जनतालाई धोका दिएर । दुःख दिएर देश समृद्ध हुँदैन । देश समृद्ध हुनका लागि देशको विकास र जनताको आकंक्षाहरू पूरा हुनुपर्छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले दुईतिहाइको कम्युनिस्ट सरकारले धाँधली गर्न शुरु गरेको भन्दै त्यस्ता हर्कतहरू तत्काल बन्द गर्न माग गरेका छन् ।

उनले जनताको अभिमतलाई स्वीकार गर्न कम्युनिस्टहरूलाई सुझाव दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट यो निर्वाचन क्षेत्रमा केशव आचार्य उम्मेदवार बनेका छन् ।

Published : Saturday, 2019 November 30, 8:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया