बैतडीमा पनि देखाए नेकपा अरिँगालहरूले औकात, तरुणद्वारा प्रतिकार

बैतडी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूले बैतडी जिल्लामा नेपाल तरुण दलका जिल्ला अध्यक्षसहित तीन जना स्थानीय नेताहरूमाथि सांघातिक आक्रमण गरेका छन् ।

शुक्रबार दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ४ ढुंगेपानीस्थित एउटा चियापसलमा चिया खाएर बसेका तरुण दलका अध्यक्ष घनश्याम भट्टसहितका तीन जनालाई नेकपाका नेता तथा कार्यकर्ताहरूले कुटपिट गरेका हुन् ।

तरुण दल बैतडीका अध्यक्ष भट्ट, नेपाली कांग्रेसका स्थानीय नेता तर्कराज भट्ट र शिक्षक कैलाशकुमार भट्टलाई नेकपाका नेताहरू धर्मेन्द्र कपाडी, मोहनसिंह कार्की र वीरेन्द्र धामीको नेतृत्वमा आएका युवाहरूले कुटपिट गरेर फरार भएको तरुण दलका अध्यक्ष भट्टले जानकारी दिए ।

तरुण दलका अध्यक्ष भट्टले भने, ‘हामी चिया पसलमा बसेर चिया खाइरहेका थियौँ । दुई, तीन वटा गाडी र मोटरसाइकलमा आएका नेकपाका नेताहरू धर्मेन्द्र कपाडी, मोहनसिंह कार्की र वीरेन्द्र धामीले हामीलाई कुटपिट गरे । मलाई धेरै चोट लागेको छैन । नेपाली कांग्रेसका स्थानीय नेता तर्कराज भट्ट र शिक्षक कैलाशकुमार भट्टलाई धेरै चोट लागेको छ ।’

नेकपाका नेता तथा कार्यकर्ताहरूले अन्धाधुन्द कुटपिट गर्न थालेपछि नेपाली कांग्रेसका कार्यकर्ता र तरुणहरूले प्रतिकार गर्न खोजेपछि उनीहरू भागेको तरुण दलका अध्यक्ष भट्टले बताए ।

यसअघि बुधबार राति दश बजे नेकपाका नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद भट्टलाई कुटपिट गरेका थिए ।

वडाध्यक्षका उम्मेदवार भट्टलाई कुटपिट गर्नेलाई नेपाली कांग्रेस बैतडीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ ।

नेकपाका कार्यकर्ताले दोगडाकेदार गाउँपालिका ४ को मटेला भन्ने ठाउँमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार भट्टलाई कुटपिट गरेका थिए ।

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्ताको आडमा भइरहेका यस्ता कार्यले निर्वाचन निष्पक्ष हुन सक्दैन भन्ने संकेत देखाएको बताएका छन् । उनले दोषीहरूलाई तत्काल पक्राउ गरेर कारबाहीको माग गरेका छन् ।

Published : Friday, 2019 November 29, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया