कम्युनिस्टहरू चुपचाप बसेका बेला भारतले सीमा मिचेकै जिल्लामा कांग्रेसद्वारा भव्य प्रदर्शन

प्रकाशचन्द्र भट्ट

दार्चुला । भारतले नेपालको सिमाना अतिक्रमण गर्दा समेत दुईतिहाइको बलियो कम्युनिस्ट सरकार मौन बसेको भन्दै नेपाली कांग्रेस दार्चुलाले विरोध प्रदर्शन गरको छ ।

दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको विरोधमा शुक्रबार नेपाली कांग्रेसले प्रदर्शन गरेको हो ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्साभित्र पार्दा समेत कम्युनिस्ट सरकारले अहिलेसम्म मुख बन्द गरेर बसेको भन्दै नेपाली कांग्रेस दार्चुलाले विरोध प्रदर्शन गरेको जनाएको छ ।

सरकारविरुद्ध विरोधमा उत्रिएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सीमा विवाद कुटनीतिक तवरले समाधान गर, गो ब्याक इण्डिया, कालापानीमा राज्यको उपस्थिति जना जस्ता नारा लगाएका थिए ।

पार्टी कार्यालयबाट र्‍यालीसहित निस्केका उनीहरूले विरोध प्रदर्शन गर्दै सुतेको सरकारलाई ब्युँझेर भारतसंग कुटनीतिक पहल अघि बढाउन माग गरेका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यालय खलंगाबाट शुरु भएको विरोध र्‍याली बसपार्क, बजारका विभिन्न स्थानको परिक्रमा गर्दै पुलघाटमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाली कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराले कालापानी क्षेत्रमा राज्यको उपस्थिति नहुनु दुःखद भएको बताए ।

कम्युनिस्ट सरकारले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई उपेक्षा गरेको सभापति बोहराले बताए ।

‘कम्युनिस्ट सरकारले खोक्रा राष्ट्रवादको गफ बाहेक अरु केही दिन सकेन’, सभापति बोहराले भने, ‘विकास निर्माणका कार्य र योजनाहरूमा चरम भ्रष्टाचार भइरहेको छ । कम्युनिस्ट सरकार कानमा तेल हालेर बसेको छ ।’

सभपाति बोहराले महाकाली करिडोरको नाममा दार्चुला तिंकर सडक ओझेलमा परेको बताए ।

विगतका वर्षहरूमा दार्चुला तिंकर सडकको लागि आउने करोडौको बजेट फ्रिज भएर जाने गरेको भन्दै उनले अहिले सरकारले त्यसका लागि न्यून बजेट छुट्याएको बताए ।

भारतले मिचेको नेपाली भूमि फिर्ताको माग गर्दै देशभरि प्रदर्शन भइरहेका बेला कम्युनिस्ट सरकारले भारतले कब्जा गरेको भूमि फिर्ताको विषयमा कुनै पहल नगरेको भन्दै कांग्रेस दार्चुलाले प्रदर्शन गरेको छ ।

कम्युनिस्ट सरकारको मौनताविरुद्ध दबाव स्वरुप विरोध प्रदर्शन गरेको सभापति बोहराले जानकारी दिए ।

भारतले नक्सा सच्याउनले पर्नेभन्दै सभपाति बोहराले सरकारले कुटनीतिक पहल नगरेसम्म आन्दोलनका कार्यक्रम निरन्तर अघि बढाउने बताए ।

कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता पुलेन्द्रबहादुर कार्कीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालार्ई भारतीय नक्साबाट हटाउन माग गरे ।

उनले भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पार्ने भारत सरकारको कदम अन्तर्राष्ट्रिय कानून विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएकोे बताए ।

दुई देशबीच यसअघि भएका असमान सन्धी सम्झौता खारेज हुनुपर्ने उनको माग छ ।

यस विषयमा सार्वजनिक रुपमा आफ्नो पक्षका प्रमाणहरू जारी गर्ने एवं कूटनीतिक पहलबाट भारतसँग प्रष्ट रुपमा वार्ता गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

भारतले मिचेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पीयाधुरा फिर्ता ल्याई नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीको ब्राह्रै महिना उपस्थिती गराउन सरकार संग उहाले माग गरेका छन् ।

उनले सुस्त गतिमा रहेको दार्चुला तिंकर सडक आयोजनालाई अविलम्ब गति दिइ तिंकर भञ्जाङसम्म पुर्‍याउनुपर्ने बताए ।

व्याँस क्षेत्रका स्थानीयहरूले आफ्नो ठाउँ पुग्न समेत भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै सरकारले कालापानी सम्म घोरेटो बाटो एवं पदमार्ग निर्माण गर्नुपर्ने बताए ।

सरकार भ्रष्टाचार, अनियमितता र भागबन्डामा रुमलिएको नेपाली काँग्रेस दार्चुलाका सचिव हरक विष्टले बताए ।

भारत सरकारले जसरी पनि नेपाली भूमि फिर्ता गर्नुपर्ने कांग्रेस नेता चन्द्र सामन्तले बताए । जसका लागि कुटनीतिक पहलको विकल्प नरहेको उनको भनाइ थियो ।

निर्माणधीन दार्चुला तिंकर सडकको निर्माण कार्यमा तिव्रता दिनुपर्ने, तिंकर नाका खोली त्रिदेशीय व्यापार संचालन गर्न सरकारसंग दार्चुला कांग्रेसले माग गरेको छ ।

Published : Friday, 2019 November 29, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया