पैसा बाँड्न हिँडेका कम्युनिस्ट भीआईपीहरू कांग्रेसकाे नियन्त्रणमा

काठमाडौं । बागलुङ जिल्लामा निर्वाचन आचार संहिता विपरित पैसा बाँड्न हिँडेका सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का सांसद र नेताहरूलाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले नियन्त्रणमा लिएका छन् ।

बागलुङ क्षेत्र नम्बर २ ‘क’का नेकपाका प्रदेश सांसद चन्द्रबहादुर बुढालाई तामनेखोला गाउँपालिकाको वडा नम्बर १ बोङ्गादोभानमा शुक्रबार दलबलसहित पैसा बाँड्न हिँडेको अवस्थामा प्रहरीकै अगाडि कांग्रेसका कार्यकर्ताहरूले नियन्त्रणमा लिएका हुन् ।

बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा शुक्रबार बिहान विकास आयोजना र आर्थिक सहयोग गर्ने प्रलोभन देखाइरहेको अवस्थामा नेपाली कांग्रेसले घेरा हालेर गाडीसहित नियन्त्रणमा लिएका थिए ।

नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेकपाका सांसद बुढासहितको टोलीले निर्वाचन आचार संहिता विपरित पैसा र योजना बाँड्न हिँडेको भन्दै प्रहरीलाई गाडी खानतलासी गर्न माग गरेका थिए । नेपाली कांग्रेसका कार्यकर्ताहरूले गाडीमा बीस हजारभन्दा धेरै रकम फेला परे जवफत गर्ने प्रहरीलाई बताएका भिडियोमा उल्लेख छ ।

गाडीमा नेकपाका प्रदेश सांसद चन्द्रबहादुर बुढा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, नेकपाको बागलुङ ईञ्चार्ज बलावती शर्मा, राजमोका जिल्ला अध्यक्ष अमर थापा, गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गोविन्द नेपाली लगायतका नेताहरूलाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले नियन्त्रणमा लिएका हुन् ।

नेकपाका प्रदेश सांसदसहितको टोलीले स्थानीयलाई प्रलोभनमा पारेको भिडियोमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले बताएका छन् ।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले निर्वाचन आचरसंहिता विपरित मौनअवधिमा बोवाङमा पैसा बाड्ने कार्य गरेको नेपाली कांग्रेसले जनाएको छ । मेयर नेपाली नेकपाबाट विजयी भएका हुन् ।

उनले ५० थान बिजुलीको पोल र मोटर बाटोदेखि पुलसम्मको प्रलोभन देखाएर मतदाता नेकपालाई मतदान गर्न धम्काएको आरोप लागेको छ ।

Published : Friday, 2019 November 29, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया