कास्कीमा कांग्रेससँग डराए कम्युनिस्ट सरकार र एसपी कार्की, डीएसपीको सरुवा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले निर्वाचन आचार संहिता उल्लंघन हुने गरेर नायब उपरीक्षक (डीएसपी) कमल शाहको सरुवा गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निकट मानिने एसपी कार्कीले कास्की क्षेत्र नम्बर २ को मतदान हुनुभन्दा २ दिन अगाडि पोखराको बैदामका प्रहरी प्रमुख डीएसपी शाहलाई सरुवा गरिएको हो ।

मन्त्री ज्ञवालीको पावर लगाएर केही महिना अगाडि एसपी कार्की कास्की सुरुवा भएर आएका थिए ।

एसपी कार्कीले डीएसपी शाहलाई साग खेलका लागि खटाएका छन् । निर्वाचनको अवधिभरि डीएसपी शाहले निस्पक्ष रुपमा निर्वाचनको सुरक्षा दिएका थिए । अब उनले निर्वाचनको कुनै पनि कुरा हेर्न पाउने छैनन् ।

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीले डीएसपी शाहलाई साग गेमको सुरक्षाका लागि खटाइएको जानकारी दिए । ‘शनिबार उपनिर्वाचनको मतदान छ । साग गेटको सुरक्षा पनि गर्नुछ’, कार्कीले भने, ‘डीएसपी शाहलाई साग गेमका खटाइएको छ । जनशक्ति कम भएको ठाउँमा अरुलाई पनि खटाइएको छ ।’

कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन आउनु दुई दिनअघि पोखराको बैदाममा रहेका डीएसपी शाहलाई बुधबार सार्क गेमको तयारी हेर्ने जिम्मा दिइएको थियो ।

शाहको स्थानमा बिहीबार नै पर्वतबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विश्वासपात्र डीएसपी विनोद सुवेदीलाई ल्याएको छ ।

डीएसपी शाहले निर्वाचन आचार संहिता विपरितका कुनै पनि क्रियाकलाप र हर्कत गर्न नदिएपछि नेकपालाई तनाब भएको थियो । मतदानको दुई दिन अगाडि डीएसपीको सुरुवा गर्ने हर्कतले नेपाली कांग्रेस चिडिएको छ ।

शनिबार हुने निर्वाचनको प्रचार प्रसारका लागि मौन अवधि शुरु भइसकेको छ । यस्तो अवस्थामा पनि दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले निर्वाचन आयोगको आचार संहिता विपरित निर्वाचन हुन लागेको क्षेत्रको प्रहरी प्रमुख डीएसपीको सरुवा गरेपछि नेपाली कांग्रेसले घोर आपत्ति प्रकट गरेको छ ।
निर्वाचन कार्यालय कास्कीले डीएसपी सुरुवाका विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले डीएसपी सरुवाको विषयमा आक्रोश पोखेका छन् । उनले सरकारी पक्षले निर्वाचनलाई प्रभावित पार्न आचार संहिता विपरित सुरक्षा निकायको प्रमुखको सरुवा गरेको आरोप लगाएका छन् ।

सभापति केसीले कम्युनिस्ट सरकार पराजित हुने डरले सुरक्षा निकायमा आफू निकटकालाई ल्याएर बर्दी लगाएर धाँधलीमा उत्रिएको बताए ।

केही महिना अघिमात्रै कास्कीको बैदामस्थित प्रहरी कार्यालयमा सरुवा भएर गएका डीएसपी शाहले निर्वाचन हुने क्षेत्रको अधिकांश भागमा हुन सक्ने निर्वाचन आचार सहिंता विपरितका गतिविधिहरू नियन्त्रणमा कडा कदम चालेपछि उनको सरुवा गरी आफ्नो दल निकट डीएसपी सुवेदीलाई चुनावको अघिल्लो दिन ल्याएर बर्दीको आडमा कम्युनिस्ट सरकार धाँधली गर्न लागेको कांग्रेस सभापति केसीको आरोप छ ।

Published : Friday, 2019 November 29, 2:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया