‘काण्डकारी’ कम्युनिस्टलाई होइन कांग्रेसलाई मत दिनुस्ः पुष्पा भुसाल

सुडाल । नेपाली कांग्रेस संसदीय दलकी सचेतक एवम् केन्द्रीय सदस्य पुष्पा भुसालले जनताले दिएको झण्ड दुईतिहाइको बहुमतलाई दुरुपयोग गरेको आरोप लगाएकी छिन् ।

भक्तपुर जिल्ला क्षेत्र नम्बर १ ‘क’का नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार कृष्णलाल भडेलको सोमबारको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कम्युनिस्टहरूले जनतामाथि विश्वासघात गरेको बताइन् ।

कम्युनिस्टहरूलाई सबक सिकाउनका लागि पनि उपनिर्वाचनमा नेपाली कांग्रेसका देशभरिका उम्मेदवारहरूलाई विजयी बनाउन भुसालले अपील गरेकी छिन् ।

‘कम्युनिस्टहरूले जनतालाई राहत दिन सकेका छैनन् चौतर्फी रुपमा असफल भएका छन्’, उनले भनिन्, ‘सुनकाण्ड, वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्ड, एनसेलन काण्ड, निर्मलाका दोषीलाई यो दुईतिहाइको कम्युनिस्ट सरकारले संरक्षण गरेको छ ।’

उपनिर्वाचनमा भक्तपुर १ ‘क’का उम्मेदवार कृष्णलाल भडेललाई जिताएर कम्युनिस्टहरूको अराजकता रोक्नुपर्ने बताइन् ।

नेपाली कांग्रेसकी नेतृ भुसाल स्थानीय नेता तथा कार्यकर्ताहरूसँग सुडाल क्षेत्रमा चुनावी अभियानमा हिँडेकी थिइन् । उनले कांग्रेसका उम्मेदवार भडेललाई मत मागेकी थिइन् ।

Published : Monday, 2019 November 18, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया