भ्रष्ट कम्युनिस्टको पत्तासाफ गर्ने अभियान भक्तपुरबाट शुरु भइसक्योः मीनकृष्ण महर्जन

सुडाल । नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले भ्रष्टाचार, अनियमितता र काण्डै काण्डमा परेको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सबक सिकाउन जनताले उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन अपील गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुरले सोमबार चागुनारायण नगरपालिकाको सुडालमा आयोजना गरेको चुनावी प्रचार प्रसार तथा कोण सभालाई सम्बोधन गर्दै महर्जनले अराजक बन्दै गएका कम्युनिस्टहरूलाई उपनिर्वाचनमा जनताले सहि ठाउँमा ल्याउनुपर्ने बताए ।

‘कम्युनिस्टहरूलाई जनताले पत्याएर झण्डै दुईतिहाइको बहुमत दिए । तर, जनताको म्याण्डेटलाई कम्युनिस्टहरूले कमाइ खाने भाँडो बनाए’, उनले भने, ‘कम्युनिस्टहरूले सामान्य पेसा व्यवसाय गरेर खाने मजदुरलाई पनि करको दायरमा ल्याएर दुःख दिएको छ । एनसेललाई कर छुट दिने, ३३ किलो सुनकाण्ड र वाइडबडी काण्ड लुकाउने जस्ता कार्य गरेको छ ।’

युवा नेता महर्जनले कम्युनिस्टहरूको हर्कतबाट जनता आजित बनेको बताए । उनले अर्को निर्वाचनमा कम्युनिस्टहरूको पत्तासाफ हुने भएकाले सत्तामा बसेर दुईतिहाइको आडमा कम्युनिस्टहरूले धमाधम भ्रष्टाचार गरिरहेको बताए ।

‘अर्को निर्वाचनमा यी भ्रष्ट कम्युनिस्टहरूको पत्तासाफ हुन्छ । जनताले कम्युनिस्टलाई लखेट् छन् । गाउँमा पस्न दिँदैनन्’, नेपाली कांग्रेसका युवा नेता महर्जनले भने, ‘त्यही डरले कम्युनिस्टहरूले जनताको सेवा गर्नेभन्दा पनि लुट मच्चाइ रहेका छन् ।’

भक्तपुर जिल्लाबाट निर्वाचन कम्युनिस्ट जनप्रतिनिधिहरूले पनि भ्रष्टाचार गरेर अकुत कमाइ गरेको बताए । उनले ती भ्रष्टहरूको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गरे ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवम् नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका नेपाली कांग्रेसका युवा नेता महर्जनले कम्युनिस्टहरूको पराजयको शुरुवात भक्तपुरको क्षेत्र नम्बर १ ‘क’बाट गर्नुपर्ने बताए ।

‘नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका कृष्णलाल भडेल दाई जनताको प्रिय नेता हुनुहुन्छ । कम्युनिस्टहरूले जस्तो लप्पन छप्पन जान्नुभएको छैन । उहाँलाई मतदान गरेर जिताउन अपील गर्छु’, महर्जनले भने, ‘यो उपनिर्वाचन मिनी जनमत संग्रह हो । कम्युनिस्टहरूको पत्तासाफ गर्ने अभियान यही भक्तपुरबाट गर्नुपर्छ । यहाँको जनताले यो साहासिक निर्णय गर्नुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता महर्जन चागुनारायण नगरपालिकाको सुडाल क्षेत्रमा सोमबार नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूसँग सहभागी भइ घैरदैलो गरेर मत मागेका थिए ।

Published : Monday, 2019 November 18, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया