सिटौलाद्वारा पौडेललाई मतदान गर्न अपील, उत्साहित बने कांग्रेस कार्यकर्ता

पोखरा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कास्की क्षेत्र नम्बर २ का मतदाताहरूसँग खेमराज पौडेललाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको उपनिर्वाचनमा उम्मेदवार बनेका पौडेलको पक्षमा मत माग्ने क्रममा शनिबार सिटौलाले ईमान्दार र पुराना नेतालाई विजयी बनाएर न्याय गर्न आग्रह गरेका हुन् ।

सिटौलाले पौडेल कम्युनिस्टहरूले जस्तो छलछाम र फट्याइ काम नगर्ने बताए ।

संवैधानिक व्यवस्था मास्नमा वर्तमान सरकार उद्धत भएको उनले आरोप लगाएका छन् ।

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–११ मा शनिबार आयोजित घरदैलो एवं कोणसभामा सिटौलाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार संवैधानिक प्रावधानमाथि थिचोमिचो गरेको बताए ।

उनले लोकतान्त्रिक विधि र प्रक्रियालाई लत्याउने कार्यमा सरकार लागेको आरोप लगाए ।

नेता सिटौलाले संविधानको मर्म र भावना एकातिर सरकार अर्कैतिर भएको बताए ।

उनले कम्युनिस्ट सरकारलाई सही बाटोमा हिँडाउनका लागि पनि यो निर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताए ।

जीवनभर कुनै लोभ मोहमा नफसेका नेता खेमराज पौडेललाई एकपटक जिताएर हेर्न उनले मतदातालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.डीला संग्रौलाले धर्मसंस्कृति मुलुकको पहिचान भएको बताइन् ।

उनले आफ्नो पहिचान कुल्चेर हिँड्नेलाई जनताले बेलैमा चिन्नुपर्ने बताइन् ।

उनले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर बन्दै गएको बताइन् । डा.संग्रौलाले लोकतन्त्रको रक्षाका लागि यो चुनावमा नेपाली कांग्रेसले जित्नुपर्ने धारणा राखिन् ।

Published : Saturday, 2019 November 16, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया