कांग्रेसका उम्मेदवार जिताउन तरुणले बनायो दुई समिति, चापागाइँ र गुरुङ ‘कमाण्डर’

काठमाडौं । नेपाल तरुण दलले उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई प्रचार प्रसारमा सहयोग गर्न दुई वटा समिति बनाएको छ ।

काठमाडौंमा शुक्रबार बसेको तरुण दल केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन परिचालन समिति र केन्द्रीय अनुगमन समिति गठन गर्ने निर्णय गरेको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार निर्वाचन परिचालन समितिको संयोजकमा उपाध्यक्ष उत्तम चापागाइँ रहेका छन् ।

केन्द्रीय अनुगमन समितिको संयोजकमा कोषाध्यक्ष विद्ववान गुरुङ रहेका छन् ।

केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्यमा उपनिर्वाचन हुँदै गरेका सबै ३७ वटा जिल्लाका तरुण दलका अध्यक्षहरू सदस्य रहनेछन् ।

‘तरुण दलले निर्वाचनमा उम्मेदवारहरूको प्रचार प्रसारमा सहयोग गर्नेछ’, अध्यक्ष बस्नेतले भने, ‘प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा उम्मेदवारहरूलाई सहयोग गर्ने दायित्व तरुणको हो । हामीले आफ्नो तर्फबाट सहयोग गर्नेछौँ ।’

नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन विभिन्न समिति र उपसमितिहरू बनाइरहेका बेला नेपाल तरुण दलले पनि दुई वटा समिति बनाएर आफूलाई सक्रिय बनाएको छ ।

नेपाली कांग्रेसले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारका कारण जनताले दुःख पाएको भन्दै कम्युनिस्ट सरकारलाई सहि ठाउँमा ल्याउन उपनिर्वाचन कांग्रेसले जित्ने पर्ने जनाएको छ ।

नेपाल तरुण दलले पनि पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो तर्फबाट भूमिका खेलेको छ ।

Published : Friday, 2019 November 15, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया