प्रहरी ज्यादतीविरुद्ध बाँकेमा तरुणको बन्द, सडकमा निस्किए तरुण

नेपालगञ्ज । हतियार काण्ड लगाएर तरुण नेताहरूलाई फसाउन हर्कत भएपछि नेपाल तरुण बाँकेले त्यसको विरोधमा बाँके जिल्लामा बन्द आह्वान गरेको छ ।

तरुण दलले शुक्रबार एक दिनका लागि प्रहरीको ज्यादतीको विरोध स्वरुप बन्द आह्वान गरेको हो । बन्दका कारण बाँके जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बिहानैदेखि बाँकेमा बन्दको प्रभाव परेको तरुण दलका अध्यक्ष बीरेन्द्रबहादुर शाहले जानकारी दिएका छन् । बन्द सफल बनाउन तरुण दलका नेता तथा कार्यकर्ताहरू विभिन्न सडक र चोकहरूमा जम्मा भएर प्रदर्शन समेत गरेका छन् ।

सडकमा सार्वजनिक सवारी साधनहरू गुडेका छैनन् । उद्योग, कलकारखाना, शिक्षण संस्थाहरू बन्द छन् । बाँके प्रहरीले बन्दको प्रभाव छिटफुट परेको दाबी गरेको छ ।

नेपाल तरुण दल नेपालगञ्ज कार्यसमितिका अध्यक्ष सन्दीपजंग लामिछानेसहितका तरुण नेताहरूलाई हतियार काण्डमा फसाएर मुद्धा चलाएको भन्दै तरुण दलले आन्दोलन गर्दै छ ।

बिहानै कलेज हिँडेका विद्यार्थी बन्दका कारण घर फर्किएका छन् ।

सडकमा केही मात्रामा मोटरसाइकल चलेपनि अन्य यातायातका साधन भने चल्न सकेका छैनन् ।

बन्दको क्रममा कुनै अप्रिय घटना हुन नदिनका लागि बाँके प्रहरी सुरक्षा व्यवस्था बलियो बनाएको जनाएको छ ।

बन्द साँझ ५ बजेसम्म जारी रहने तरुण दल बाँकेले जनाएको छ । बन्दका क्रममा अत्यावसेक सवारी साधन चल्न दिइने अध्यक्ष शाहले बताए ।

दशैँका बेला खसी नपाएको झोँकमा ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशरबहादुर खड्कालाई फोन गरेर तिघ्रा छेड्ने धम्की दिएका थिए ।

बाँके प्रहरी र सिडिओले तरुण नेताका साथै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूलाई दुःख दिँदै आएको आरोप कांग्रेसको छ ।

Published : Friday, 2019 November 15, 10:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया