जुलुस लगाएर होइन भारतसँग कुटनीतिक कुरा गरौँः देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कूटनीतिक तवरबाट नेपाल र भारतबीच उत्पन्न सीमा विवाद समाधान गर्नुपर्ने बताएका छन् ।

धनगढी विमानस्थलमा प्रेस युनियनले बिहीबार बेलुकी आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले त्यस्तो धारणा राखेका हुन् ।

उनले नारा जुलुस लगाएरभन्दा पनि कूटनीतिक तवरबाट आफ्नो भूमि फिर्ता गर्नुपर्ने स्पष्ट पारेका छन् ।

‘महाकालीलाई दुवै देशको सीमानदी मानिएको हो, त्यसैबाट आधा पानी नेपाल र आधा पानी भारतले पाउने सहमति भएको हो’, देउवाले भने, ‘कालापानी नेपालकै भूमि हो । लिपुलेक त्रिदेशीय नाका भएकाले यसैअनुरुप समाधान खोजिनुपर्छ ।’

सो अवसरमा देउवाले आगामी उपनिर्वाचनका लागि जिम्मेवार भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले एकजुट भएर चुनावमा लाग्नुपर्ने बताए । उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केही ठाउँमा विवेकशील पार्टीसँग चुनावी तालमेल गर्ने कुरो के हो ? भनेर पत्रकारले सोधेको जिज्ञासामा देउवाले भने, ‘मलाई थाहा छैन, त्यसबारे तपाईंहरूलाई थाहा भए मलाई बताइदिनुहोस ।’

डा. गोविन्द केसीका बारेमा राखिएको जिज्ञासामा नेता देउवाले डा. केसीले अनशन स्थगित गर्नु राम्रो रहेको बताए ।

‘उहाँले अनशन स्थगित गर्नु भो, राम्रो गर्नुभो’, उनले भने, ‘मलाई त उहाँको माग के हो भन्ने पनि थाहा छैन । झन् मेरै गृह जिल्लामा आएर अनशन बस्नुभएको रहेछ ।’

देउवासँगै उनकी पत्नी डा.आरजु राणा देउवा पनि धनगढीमै छिन् । कैलाली र कञ्चनपुरमा हुने पार्टीका कार्यक्रममा सहभागी हुन देउवा धनगढी आएका हुन् ।

Published : Thursday, 2019 November 14, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया