शेरबहादुर र रामचन्द्र एक हुने हो भने कांग्रेस कहिल्यै हार्दैनः खतिवडा

झापा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन एक भएर लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस झापाले बिहीबार झापामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शेरबहादुर देउवा र रामचन्द्र पौडेलले चाहने हो भने कांग्रेसलाई कसैले हराउन नसक्ने बताए ।

‘शेरबहादुर देउवाको चाहना भनेको कांग्रेसलाई पहिलो बनाउने हुनुपर्छ’, उनले भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेलको चाहना पनि म र मेरा होइन कांग्रेस पहिलो हुने भन्ने हुनुपर्छ । देउवा र पौडेल मिले भने कांग्रेसलाई कसैले हराउन सक्दैन ।’

नेता खतिवडाले कांग्रेसभित्र गुट र फुटभन्दा पनि एकताको सन्देश चाहिएको बताए ।

‘अहिले दुईतिहाइको कम्युनिस्ट सरकार भएका बेला पार्टीभित्र हामीले राम्रोभन्दा पनि हाम्रो व्यक्ति छानेका कारणले दोस्रो पार्टी बनेका छौँ’, उनले भने, ‘झापाबाट घोषणा गरौँ । अब कांग्रेसमा गुट र उपगुट होइन, नेताका होइन, कार्यकर्ताको मूल्यांकन गर्ने उद्घोष गरौँ’, खतिवडाले भने, ‘नेता, नाता र दातालाई खोज्ने होइन । हामीले त्यसरी मान्छे खोज्दा कांग्रेस कमजोर भयो । नेताले मेरो होइन हाम्रो मान्छे खोज्नुपर्छ ।’

‘परिक्रमी होइन, परिश्रमी कांग्रेस खोज्नुपर्छ’, उनले भने, ‘चाकढी गर्नेहरूका कारण कांग्रेस कमजोर भएको छ ।’

‘विश्वका अधिकांश देशमा ४० वर्षभन्दा कम उमेरका व्यक्ति राष्ट्र प्रमुख भएका छन् । हाम्रो पार्टीमा ६० वर्ष नपुग्दासम्म युवा नेता नहुने प्रचलन छ’, उनले भने, ‘सबैलाई लिएर हिँड्यौँ भने कांग्रेस कहिल्यै हार्दैन ।’

‘आजको आवश्यक्ता भनेको कांग्रेसको गुट र फुट होइन जुटको आवश्यक्ता छ’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘हामीले एकताको सन्देश दिनुछ ।’

‘अहिले दुईतिहाइको कम्युनिस्ट सरकार छ । तपाईहरूको झापा जिल्लाबाट जितेर जानु भएका प्रधानमन्त्री खड्गप्रसाद ओली हुनुहुन्छ’, उनले भने, ‘तपाईको जिल्ला मेचीदेखि महाकालीसम्म सीमा अतिक्रमण हुँदा तपाई भारतीय प्रधानमन्त्रीको ड्रेस लगाएर जनकपुरमा जानु हुन्छ ।’

उनले प्रश्न गर्दै भने, ‘राष्ट्रमाथि घात हुँदा किन बोल्ने आँट गर्न सक्नु भएन ? राष्ट्रवादको नारा लिएर हिँड्ने देशलाई अफ्ठ्यारो पर्दा बालुवाटारमा लम्पसार परेर सुत्ने ? यसरी देशको समस्या समाधान हुँदैन ।’

नेता खतिवडाले देशभरि उपनिर्वाचन हुँदै गरेका बेला कांग्रेसका उम्मेदवारहरूलाई जिताउन अपील गरेका छन् ।

‘कम्युनिस्ट सरकार भ्रष्टाचारमा डुबेको छ । बलात्कारमा डुबेको छ । तस्करीमा डुबेको छ’, उनले भने, ‘कांग्रेसका सबै नेताहरूले यो सरकारले गरेका गलत कुराहरूको सशक्त रुपमा भण्डाफोर गर्नुपर्छ ।’

Published : Thursday, 2019 November 14, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया