अरिँगालहरूद्वारा सिन्धुपाल्चोकमा कांग्रेसको कार्यक्रम विथोल्ने प्रयास, कार्यकर्ताले गरे प्रतिकार

चौतारा । सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको चुनावी सभा बिथोल्न खोज्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले लखेटेका छन् ।

बुधबार ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ मा वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएर नवलपुर बजारमा चुनावी सभा गर्ने क्रममा नेकपाका ‘अरिँगाल’हरूले सभा विथोल्ने प्रयास गरेका थिए ।

सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सम्बोधन गर्दै थिए । त्यही बेला नेकपाका कार्यकर्ताहरूले हो–हल्ला गरेर बिथोल्न खोजेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नेकपाका कार्यकर्ताहरूलाई लखेटेको नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।

चुनावी सभालाई नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा र ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले सम्बोधन गरिसकेका थिए ।

नेपाली कांग्रेसको चुनावी कार्यक्रम बिथोल्न खोजेपछि मञ्चमा बोलिरहेका केन्द्रीय सदस्य बस्नेतले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै अराजक शैलीमा नउत्रिन नेकपाका कार्यकर्ताहरूलाई पटक पटक सम्झाएका थिए । तर, नेकपाका कार्यकर्ताले नमानेपछि बाध्य भएर कांग्रेसका कार्यकर्ताले लखेटेको जनाइएको छ ।

ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा उपनिर्वाचन हुँदै छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेकपाका अरिँगालहरूलाई लखेटेपछि केन्द्रीय सदस्य बस्नेतले ४५ मिनेट सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेसका नेताहरूको सुझबुझ र संयमताका कारण सिन्धुपाल्चोकमा बुधबार कुनै अप्रिय घटना हुन पाएन । ईन्द्रावती गाउँपालिकामा नेपाली कांग्रेसको गढ मानिन्छ ।

Published : Wednesday, 2019 November 13, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया