धरानमा कांग्रेस उत्साहित, मैदानमा देखिए ठूला नेता, कम्युनिस्टहरू दुःखी (तस्वीर)

धरान । नेपाली कांग्रेसको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसले बुधबार उपनिर्वाचनका लागि धरानमा पञ्चेबाजासहित मनोनयन दर्ता गराएको हो । धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट सुवर्णमोहन पालिखेले वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयन गर्न नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार, केन्द्रीय सदस्य धनराज गुरुङ, मीनबहादुर विश्वकर्मा, पूर्वसांसद रामहरि खतिवडा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, मृदुला काेइराला लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले धरानमा कांग्रेसका उम्मेदवारहरूको पक्षमा आफूले माहोल देखेको बताए ।

‘अहिलेसम्मको अवस्था हेर्दा धरानमा मेयर र वडाध्यक्ष दुबै पद नेपाली कांग्रेसले जित्छ’, उनले भने, ‘कम्युनिस्टहरूबाट आजित बनेका धरानका जनताले बिकल्प खोजेका छन् । कांग्रेसको जित सुनिश्चित छ ।’ जनतालाई हरेक ठाउँमा कर लगाएर दुःख दिएको भन्दै खतिवडाले कम्युनिस्ट सरकारको आलोचना गरेका थिए ।

उम्मेदवारी मनोनयन गर्न जाने क्रममा नेपाली कांग्रेसका सयौँ कार्यकर्ताले कांग्रेसको पक्षमा नारावाजी गरेका थिए ।

निर्वाचन कार्यालयले नेपाली कांग्रेसका लागि ११ बजेदेखि १२ बजेसम्मको समय तोकेको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट प्रकाश राईले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर ईजम, राप्रपा संयुक्तबाट कुमार बराईली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् ।

वडा नम्बर ७ को वडाध्यक्षमा सत्तारुढ नेकपाले जीवन सुवेदीलाई उम्मेदवार बनाएको छ ।

यसअघि ०७४ को चुनावमा मेयर र वडाध्यक्ष दुबै पद तत्कालीन एमालेले जितेको थियो । यस पटक नेपाली कांग्रेसले मेयर र वडा नम्बर ७ को वडाध्यक्ष पद कब्जा गर्ने योजना बनाएको छ । (तस्वीर साैजन्य हुकम राई)

Published : Wednesday, 2019 November 13, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया