कम्युनिस्ट मुख्यमन्त्री पोखरेलको दललाई झट्का, दाङमा नेकपाको बागी उम्मेदवारी

घोराही । सत्तारुढ नेपाल कम्युनिस्टपार्टी (नेकपा) दाङले टिकट वितरणमा असमान व्यवहार गरेपछि विरोध भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेकपाले टिकट नदिएपछि नेकपाकै नेता जगलाल चौधरीले बागी उम्मेदवारी दिएका छन् । चौधरीले बुधबार दलबलसहित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा तत्कालीन वडाध्यक्ष लक्षिनप्रसाद बुढाको स्वर्गारोहण भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

नेपालको राष्ट्रिय झण्डा, बाजागाजासहित मनोनयन दर्ता गराउन निर्वाचन कार्यलय पुगेका चौधरीले नेताको गुलामी र दलाली गर्ने प्रबृत्तिको बिरोधमा आफ्नो उम्मेदवारी परेको बताए ।

तत्कालीन वडाध्यक्ष लक्षिनप्रसाद बुढाको सपना पूरा गर्न वडा नम्बर १६ का जनताले आफूलाई चुनावमा उम्मेदवार बन्न प्रेरणा दिएको चौधरीले बताए । उनले भने, ‘मेरो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता हुँदैन ।’

घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा स्व.लक्षिनप्रसाद बुढाकी श्रीमती लालमती बुढालाई टिकट दिन माग गरिएको थियो । तर, सत्तारुढ नेकपाले लालमती बुढालाई टिकट नदिएर सुरेशबहादुर केसीलाई दिएपछि नेकपाभित्र विवाद भएको थियो ।

नेकपाले दाङ क्षेत्र नम्बर ३ ‘ख’मा स्व.उत्तरबहादुर ओलीकी पत्नी विमला ओलीलाई टिकट दिएको छ । तर, घोराही वडा नम्बर १६ मा नेकपाले सोही प्रकृतिको घटनामा स्व.लक्षिनप्रसाद बुढाकी पत्नी लालमती बुढालाई टिकट नदिएर अर्कै व्यक्तिलाई दिएपछि असन्तुष्टि बढेको हो ।

प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेकपाका नेता शंकर पोखरेलको निर्देशनमा लालमतीलाई टिकट नदिएको आरोप लगोको छ ।

लालमती बुढा क्षेत्री बाहुन नएका कारण टिकट वितरणमा विभेद गरिएको निर्वाचन कार्यालयमा आइका नेकपाका बागी उम्मेदवारका समर्थकहरूले आरोप लगाएका थिए ।

बैजाली बुढा मगर समाज दाङ र नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले बुधबार बिहान छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर स्व.लक्षिनप्रसाद बुढा मगरकी धर्मपत्नी लालमती बुढामगर आदिपासी जनजाति भएकै कारण नेकपाले विभेद गरी राजनीतिक अधिकार खोसेको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनमगर र सचिव मुक्त बुढामगरले विज्ञप्ति जारी गर्दै नेकपाको तर्फबाट गरिएको गलत निर्णय सच्याउँदै स्व.लक्षिनप्रसाद बुढाकी धर्मपत्नी लालमती बुढालाई नै उम्मेदवार बनाउन माग गरेका छन् ।

स्व.लक्षिनप्रसाद बुढा तत्कालीन एमालेबाट सिफारिस भई वडाध्यक्षमा निर्वाचित भएका थिए ।  

Published : Wednesday, 2019 November 13, 4:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया