यो पक्ष, उ पक्ष होइन कांग्रेस बनेर अगाडि बढौंः रामचन्द्र पौडेल

निजगढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न उत्तम समय भएको बताएका छन् ।

बारा जिल्लाको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए ।

पौडेलले भने– ‘सीमाको समस्या धेरै पहिले देखि हो । यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौँ । तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।’

‘दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सीमा विवाद छन् । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौँ’, पौडेलले भने, ‘प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो । हामीले हेर्ने बेला आएको छ ।’

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताए । उनले त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारेका छन् ।

पौडेलले भने– ‘कार्यकर्ताको न्याय निष्पक्ष र पारदर्शी मूल्याङ्कन आवश्यक छ । दुई महिनामा गर्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन् । अब जालझेलको राजनीतिले पार्टी टिक्न सक्दैन् ।’

‘यो पक्ष, उ पक्ष होइन पार्टीलाई ठूलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको छ’, उनले भने, ‘अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ ।’

नेपाली कांग्रेस वरिष्ठ नेता पौडेलले निजगढ विमानस्थल र फाष्ट ट्रयाकलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ति जनाए ।

उनले निजगढ विमानस्थल बनाउनेक्रम आवश्यक्ताअनुसार मात्रै रुख कटान गर्नुपर्ने बताए ।

Published : Wednesday, 2019 November 13, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया