ओलीको सरकार लम्पसारवादीः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाली भूमि मिचेर नयाँ नक्सामा समावेश गर्दा पनि प्रधानमन्त्री केपी ओली चुप लागेर बसेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिहरूका लागि हेटौंडामा मंगलबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले नेपाली भूमि मिचिँदा पनि प्रधानमन्त्री ओली केही नबोलेका भन्दै आपत्ति जनाएका हुन् ।

‘कालापानी हाम्रो हो नि । कालापानी, लिपुलेक नेपालको हो । मैले इण्डियामा गएर पनि भनेको छु’, देउवाले भने, ‘कालापानी हाम्रो हो ।
‘सरकार किन बोलिराखेको छैन ?’, देउवाले भने, ‘राष्ट्रवादी ओली किन बोल्दैनन् ?’

पूर्वप्रधानमन्त्री समेत रहो देउवाले धर्ना जुलुसबाट नभई भारत सरकारसँग वार्तामार्फत सीमा विवादको समाधान खोज्नुपर्ने बताए ।

उनले ओली नेतृत्वको सरकारलाई लम्पसारवादीको समेत संज्ञा दिएका छन् ।

सभापति देउवाले ऋण लिएर नेपालमा रेल ल्याउनु मुर्खता भएको पनि बताए । ऋण लिएपछि व्याजका कुरा आउने र आर्थिक भार बढ्दै जाने भएकाले रेलको कुरा राम्रो नभएको उनको भनाइ थियो ।

दुईतिहाइको दम्भ बोकेको सरकारले गाउँघरमा बाटो पुर्‍याउन नसकेको भन्दै देउवाले रेलको कुरा गरेर जनता झुक्काइरहेको आरोप लगाए ।

नेपाली कांग्रेस एक ढिक्का भएर जानुपर्ने र एकता गरी अघि बढ्नुपर्नेमा जोड दिदैं सभापति देउवाले भने, ‘नेपाल धेरै अप्ठ्यारोमा छ । सिमाना होस् या राजनिति, अब सबै मिलेर देशलाई बचाउनतर्फ लाग्नुपर्छ ।’

Published : Tuesday, 2019 November 12, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया