सीमा मिचिदा पनि राष्ट्रवादी भन्ने ओलीले केही गर्दैनन्ः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि पनि प्रजातन्त्रको रक्षाका लागि लड्नुपर्ने समय आउन सक्ने बताएका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेर राणाको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्टहरूबाट प्रजातन्त्रमाथि खतरा रहेको बताए ।

‘फेरिपनि लड्ने समय आउन सक्छ । उपलब्धि रक्षा गर्ने हो । तयार रहनुपर्छ’, उनले भने, ‘कम्युनिस्टहरूका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ ।’

सभापति देउवाले भारतले मिचेको कालापानी नेपालकै भएको बताए ।

‘कालापानी नेपालको हो दुईमत छैन । राष्ट्रवादी भन्ने ओलीले केही गर्दैनन्’, उनले भने, ‘कालापानी हाम्रो हो । सीमा मिच्ने काम सैह्य छैन । कुटनीतिक रुपमा सरकारले भारत सरकारसँग कुरा गरेर कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता गराउनुपर्छ ।’

डडेलधुरामा मेडिकल शिक्षा सुधारको माग राखेर आन्दोलनरत डा.गोविन्द केसीलाई काठमाडौं ल्याएर उपचार गराउन सरकारलाई सुझाव दिए ।

‘डडेलधुरा जिल्लामा चिसो छ । उहाँका मागलाई सरकारले पूरा गरोस्’, देउवाले भने, ‘लोकतन्त्रमा सबैका कुरा सुनिनुपर्छ । जायज मागलाई सम्बोधन गर्नुपर्छ ।’

Published : Monday, 2019 November 11, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया