नेपाल प्रहरीका डीआईजीहरूको सरुवा हुँदै

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका नायब महानिरीक्षकहरू (डीआईजी)को सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ ।

उपनिर्वाचनको आचारसंहिता लागू भइसकेका कारण मन्त्रालयले आयोगको सहमति खोजेको हो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले डीआईजीहरूको सुरुवाका लागि गृहकार्य गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्री, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी निरजबहादुर शाही र अपराध अनुसन्धान विद्यालयका डीआईजी रामप्रसाद श्रेष्ठको सरुवाका लागि कार्यकाल पूरा भइसकेको छ ।

महानगरीय प्रहरी कार्यालयको प्रमुखमा डीआईजी केदार रिजाल, केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा डीआईजी विश्वराज पोखरेलको सुरुवाको तयारी भएको छ ।

डीआईजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विद्यालय पठाएर महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिने तयारी भएको दाबी गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआईजी नारायणसिंह खड्का र डीआईजी सूर्यप्रसाद उपाध्यायमध्ये एकजनालाई पठाउने तयारी भएको छ ।

खड्का प्रबन्ध निर्देशनालयको प्रमुख छन् । उपाध्याय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको रुपमा कार्यरत छन् ।

Published : Monday, 2019 November 11, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया