सिमानाका लागि मैदानमा उत्रियाे तरुण, भारतविरुद्ध देशैभरि प्रदर्शन गर्न परिपत्र

काठमाडौं । नेपाल तरुण दलले भारतद्वारा भएको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतको भू–भाग अतिक्रमणको विरोधमा सबै जिल्ला कार्यसमितिहरूलाई विरोधका कार्यक्रमहरू गर्न निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आइतबार परिपत्र जारी गर्दै कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका भू–भाग अतिक्रमण गर्ने हर्कतको विरोधमा जिल्ला कार्यसमितिहरूलाई भारतविरुद्ध विरोधका कार्यक्रम गर्न निर्देशन दिएका हुन् ।

‘भारतद्वारा नेपालको भू–भागमाथि गरिएको सीमा अतिक्रमणको विरुद्धमा नेपाल तरुण दल केन्द्रीय कार्यसमिति दलका सबै जिल्ला समितिहरूलाई दवाव मुलक विरोधका कार्यक्रमहरू गर्न यो परिपत्र गर्दछ’, परिपत्रमा भनिएको छ, ‘भारतको उक्त कार्यको विरुद्ध विरोधका कार्यक्रमहरू गरेका जिल्ला समितिहरूलाई केन्द्रीय समिति धन्यावाद दिँदै अन्य जिल्ला समितिहरूलाई पनि दवाव मुलक विरोधका कार्यक्रमहरू गर्न यसै परिपत्रमार्फत आग्रह गर्दछ ।’

नेपाल तरुण दलले भारत सरकारले भर्खरै मात्र नेपालका भू–भागहरू कालापानी, लिपुलेक र लिम्पिया धुरा भारतको नयाँ नक्सामा पारेको प्रति नेपाल तरुण दलको गम्भरि ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपालको माटो उसको नक्सामा मिसाएको भारतको उक्त कार्यले तीन करोड नेपालीको आत्मामा चोट पुगेको नेपाल तरुण दल केन्द्रीय समितिको निष्कर्ष छ’, तरुण दलले भनेको छ ।

‘भारतद्वारा नेपालको सीमा अतिक्रमण गरेर नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने गम्भीर कार्य हुँदा पनि वर्तमान सरकारले यसको समाधानको लागि कुनै पनि कुटनीतिक पहल शुरु नगरेकोमा दलको केन्द्रीय समिति खेद प्रकट गर्दछ’, परिपत्रमा भनिएको छ ।

तरुण दलले भनेको छ, ‘राष्ट्रको सौभौमिक अखण्डता र स्वाभीमानको रक्षा गर्नु नेपाल तरुण दलको आफ्नो दायित्व सम्झन्छ ।’

नेपाल तरुण दलले विभिन्न जिल्लाहरूमा भारतले नेपाली सीमा मिचेको विरोधमा प्रदर्शनहरू गर्दै आएको छ ।

Published : Sunday, 2019 November 10, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया