ओली र भारतको विरोध गर्दा काठमाडौंमा नेविसंघका थुप्रै नेता पक्राउ, डीएसपीद्वारा कुटपिट

काठमाडौं । भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्साभित्र राखेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निकालेको मसाल जुलुसमा प्रहरीले चरम दमन गरेको छ ।

आइतबार साँझ काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडिबाट नेविसंघले भारतविरुद्ध निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिए ।

शाहका अनुसार नेविसंघको मसाल जुलुसमा हस्तक्षेप गरेर थुप्रै विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले लिपुलेक र कालापानी हाम्रो होभन्दै भारत र दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध नारावाजी गरेका थिए ।

पक्राउ परेका विद्यार्थी नेताहरूलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

पक्राउ परेका विद्यार्थीलाई डीएसपी पवन भट्टराईले लात्ती प्रहार गर्नुका साथै अभद्र व्यवहार गरेको पक्राउ परेका विद्यार्थीलाई उदृत गर्दै पूर्वउपाध्यक्ष शाहले जानकारी दिएका छन् ।

विद्यार्थी नेताहरू पक्राउ परेपछि उनीहरूको रिहाइ माग गरेर शाहसहितका विद्यार्थी नेताहरू महेन्द्र पुलिस क्लव अगाडि जम्मा भएर प्रहरीलाई दवाव दिएका छन् ।

पक्राउ पर्नेमा प्रेम शाही, शैलेन्द्र गौडेल, सुरज सेजवाल, पंकज सुवेदी, लक्ष्मी सिलवाल, अशोक विष्ट, अनुराग शाह, बलराम ढकाल, शिखर खड्का, सुरज नेपाल, मनीष खड्का लगायतका विद्यार्थी रहेको शाहले बताए ।

000

विद्यार्थी नेताहरूको गिरफ्तारका सन्दर्भमा प्रेस विज्ञप्ति

कालापानी र लिपुलेकका सन्दर्भमा प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरू प्रेम शाही, शैलेन्द्र गौडेल, सुरज सेजुवाल, पंकज सुवेदी, लक्ष्मी सिलवाल, अशोक बिष्ट, अनुराग साह, बलराम ढकाल, शिखर खड्का र मनोज बास्तोलालाई गिरफ्तार गरिएकोमा ध्यानाकर्षण भएको छ ।

काठमाडौंको प्रदर्शनमार्गबाट गिरफ्तार गरिएका तत्काल विद्यार्थीलाई तत्काल बिना शर्त रिहा गर्न नेपाली कांग्रेस अपील गर्दछ ।

विश्वप्रकाश शर्मा

प्रवक्ता, नेपाली कांग्रेस

मितिः २०७६र०७र२४ गते

Published : Sunday, 2019 November 10, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया