कांग्रेसले जित्ने भएपछि बागलुङमा कम्युनिस्टहरूले मच्चाए उत्पात

काठमाडौं । बागलुङ जिल्लामा नेपाली कांग्रेसले जित्ने पक्का जस्तै भएपछि सत्तारुढ कम्युनिस्ट गठबन्धनले आइतबार उत्पात मच्चाएको छ ।

उपनिर्वाचनका लागि कम्युनिस्ट गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउने नेकपाको प्रयास असफल भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले जित्ने पक्का जस्तै देखेको कम्युनिस्ट गठबन्धनले बागीलाई फिर्ता गराएर निर्वाचन कब्जा गर्ने योजना बनाएका थिए ।

उनीहरूले घर्तीको उम्मेदवारी प्राविधिक रुपमा फिर्ता गराउन सकेनन् । तर, घर्तीले विज्ञप्ति जारी गरेर कम्युनिस्ट गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने जनाएका छन् ।

बागलुङ क्षेत्र नम्बर २ ‘ख’को उपनिर्वाचनका लागि घर्तीले बागी उम्मेदवारी दिएका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेको थियो ।

नेकपाको निर्णयपछि राष्ट्रिय जनमोर्चाले खिमबिक्रम शाहीले उम्मेदवारी दिएका थिए ।

सत्तारुढ नेकपाका नेताहरूले घर्तीलाई उम्मेदवारी फिर्ता गराउन बुर्तिवाङदेखि सदरमुकासम्म हेलिकोप्टरमा ल्याएका थिए । घर्ती सदरमुकाम आइपुग्दा उम्मेदवारी फिर्ता लिने समय घर्किएपछि उनलाई सिधै पार्टी कार्यालय लगिएको थियो ।

बागलुङ जिल्ला निर्वाचन अधिकृत विकासचन्द्र पौडेलले घर्तीले उम्मेदवारी फिर्ता नलिएको जानकारी दिएका छन् ।

सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले बागी उम्मेदवार घर्तीले राजमोका उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।

ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले चढ्ने गरेको प्रभु एयरको हेलिकोप्टरमार्फत घर्ती आइतबार सदरमुकाम आएका थिए । घर्तीलाई चढाउन कम्युनिस्ट गठबन्धनले निर्वाचन आचार संहिता विपरित हेलिकप्टरको प्रयोग गरेको भन्दै विरोध भएको छ ।

घर्तीलाई अपहरण गरेर राखेकाले उम्मेदवारी फिर्ता गर्न ढिला भएको हल्ला नेकपाले चलाएको थियो ।

घर्तीलाई बुर्तिवाङका नेकपाका नेता तुलसी अर्यालको घरमा भेटेपछि बागलुङ पठाइएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक सुरज खड्काले बताएका छन् । घर्तीलाई प्रहरीकै गाडीमा राखेर अपहरण शैलीमा हेलिकप्टरमा चढाएको चर्चा बागलुङमा छ । (तस्वीर साैजन्य उजिर मगर)

Published : Sunday, 2019 November 10, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया