प्यूठानमा दुईतिहाइको कम्युनिस्टलाई ठूलाे नाेक्सान, कांग्रेसमा भित्रिए दुई सय युवा

प्यूठान । प्यूठान जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका दर्जनौं युवा नेता तथा कार्यकर्ताले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाल तरुण दल प्यूठानले जुम्रीमा सोमबार आयोजना गरेको कार्यक्रममा नेकपा र राजमोका १ सय ८९ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेसका नेता डा.गोविन्दराज जोशीले जानकारी दिए । कांग्रेसमा प्रवेश गर्नेहरू सबै २० देखि ३५ वर्ष उमेर समूहका छन् ।

माउ पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका उनीहरूले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनताको हितमा कुनै काम नगरेपछि पार्टी छाड्न बाध्य भएको बताए ।

निर्वाचनमा गरेको प्रतिवद्धता गरेका नेकपा र राजमोले सत्तामा गएपछि जनताका साना कुरालाई पनि बेवास्ता गरेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका स्थानीय नेता अमृत राउतले अब आफूहरू नेपाली कांग्रेसको इमान्दार कार्यकर्ता भएर काम गर्ने बताएका छन् ।

‘गाउँका जनताको धेरै ठूला माग हुँदैनन्’, उनले भने, ‘आफ्नै जिल्ला र गाउँको विकास नगर्नेहरूलाई अब जनताले माफी दिँदैनन् । गफाडी पार्टीमा बस्नु उचित छैन । नेपाली कांग्रेसले नै देशको विकास गर्छ ।’

नेपाली कांग्रेस प्रवेश गर्नेमा स्वर्गद्धारी प्यूठान नगरपालिका तथा सरुमारानी र माण्डवी गाउँपालिकामा दुई कम्युनिस्ट पार्टी नेकपा र राजमोमा युवाहरूको पहिरो गएको हो ।

नेपाली कांग्रेसका नेता डा.गोविन्दराज पोखरेल र प्यूठान कांग्रेसका सभापति अमरप्रसाद भण्डारीले उनीहरूलाई कांग्रेसमा भित्र्याएका हुन् ।

नेपाली कांग्रेस प्रवेश गर्ने नेकपाका युवाहरूमा कमल घर्ती, डायमण्ड पुन, सरोज थापा, भुवन घर्तीलगायत रहेका छन् । राजमोबाट अमृत राउत, सुशान्त घर्ती, विष्णु केसी, जितबहादुर थापा, गिरु भण्डारी, मनोज थापालगायत रहेको डा.पोखरेलले बताए ।

नेपाली तरुण दल प्यूठानका अध्यक्ष सनत श्रेष्ठले नवप्रवेशी युवाहरूलाई योग्य र क्षमताअनुसार जिम्मेवारी दिइने बताएका छन् ।

Published : Monday, 2019 October 21, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया