ढुंगाना नेविसंघको अध्यक्षमा प्रस्तावित , तीन महामन्त्री रहने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगानाको नाम प्रस्ताव गरेका छन् ।

नेविसंघको महाविधेशन ६ महिनाभित्र सम्पन्न गर्ने गरी सभापति देउवाले अध्यक्षमा ढुंगानाको नाम प्रस्ताव गरेका हुन् ।

नेविसंघको अध्यक्षमा प्रस्तावित ढुंगाना नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि निकटका मानिन्छन् । स्रोतको अनुसार ढुंगाना अर्का उपसभापति विजयकुमार गच्छदार निकट पनि मानिन्छन् । ढुंगाना सुनसरी जिल्ला निवासी हुन् ।

आइतबार साँझ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस शीर्ष नेताहरूको छलफलमा देउवाले ढुंगानाको नाम प्रस्ताव गरेका स्रोतले जनाएको छन् ।

उपसभापति निधिको दवावमा सभापति देउवाले ढुंगानालाई अगाडि सारेको एक नेताले बताए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघको संयोजकमा मनोजमणि आचार्यको नाम प्रस्ताव गरेका थिए ।

आचार्यको नाममा देउवा सहमत नभएपछि पौडेलले ६ महिनाभित्र महाधिवेशन गर्ने र केन्द्रीय समिति तथा पदाधिकारी कति संख्या हुने भन्ने विषय टुंगो लगाउनुपर्ने माग गरेका थिए ।

स्रोतका अनुसार सभापति देउवाले संयोजकमा ढुंगानाको नाममा सहमति गरी महामन्त्री तीन जना राख्ने र त्यसमा पौडेल पक्षबाट एकजना, कृष्णप्रसाद सिटौला पक्षबाट एकजना र आफ्नो तर्फबाट एकजना राख्ने प्रस्ताव गरेका थिए ।

पौडेल समूहले नेविसंघमात्र नभई पार्टीका अन्य भ्रातृ तथा शुभेच्छुक संगठनका साथै पार्टीका विभाग लगायतको प्याकेजमै टुंगो लगाउन प्रस्ताव गरेका थिए ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएपछि ०७५ माघ २ गतेदेखि संघ नेतृत्वविहीन अवस्थामा छ ।

Published : Monday, 2019 October 21, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया