रविनाले तोडिन् कम्युनिस्टहरूको षड्यन्त्र, राखिन् कांग्रेसको नाम

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ विश्व सम्मेलन तथा महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित रविना थापाले सबै मतदार्ता र शुभेच्छुकहरूलाई धन्यावाद दिएकी छिन् ।

नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट उपाध्यक्षको उम्मेदवार बनेकी थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका उम्मेदवारलाई पराजित गरेकी हुन् ।

‘मलाई महिला उपाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु’, उनले भनेकी छिन्, ‘साथै अन्य सबै निर्वाचित मित्रहरूलाई बधाई समेत व्यक्त गर्दछ ।’

‘विभिन्न पदमा रहेर यस एनआरएन महान अभियानलाई योगदान गर्ने उत्कट चाहनासहित उम्मेदवारी दिनुभएका अन्य मित्रहरूप्रति पनि मेरो हार्दिक सम्मान छ’, उपाध्यक्ष थापाले भनेकी छिन् ।

‘निर्वाचन एउटा प्रक्रिया मात्रै हो काम हामी सबै मिलेर गर्ने हो तसर्थ भोलिका दिनमा तपाईहरूको साथ र समर्थन मलाई अवश्य चाहिन्छ र त्यो प्राप्त हुनेमा म विश्वस्त पनि छु’, उनले भनिन् ।

‘किनकी यहाँहरूलाई अवगत नै छ, कि ममा होइन, हामीमा ठूलो शक्ति हुन्छ र मैले मान्ने सिद्धान्त पनि यही हो’, थापाले भनेकी छिन्, ‘तपाईहरूले दिनुभएको जिम्मेवारी म सहृदय र पूर्ण बफादार रही पूरा गर्नेछु ।’

‘आफ्नो व्यक्तिगत कामलाई थाती राखी, दशैँ, तिहार जस्ता ठूला चाडमा परिवारको बीचमा समेत नबसी यहाँ आउनुभयो, भोक, प्यास, निद्रा नभनी साथ र समर्थन गर्नुभयो यसप्रति म नतमष्तक छु’, थापाले भनेकी छिन् ।

‘यो मेरो मात्रै होइन मलाई विश्वास गर्ने तपाई सबैको जित हो’, उनले भनेकी छिन् ।

नेपाली कांग्रेस निकटबाट अध्यक्षमा उम्मेदवार बनेका कुल आचार्यको समूहबाट थोरै उम्मेदवारहरूले जित्ने मध्येकी रविना थापा एक हुन् । अमेरिकामा बसोबास गर्दै आएकी उनी विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहँदै आएकी छिन् ।

Published : Monday, 2019 October 21, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया