कांग्रेसले आफू निकटका एनआरएनएका प्रतिनिधिलाई सम्झियो, दियो सान्त्वना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जनसम्पर्क समितिका प्रतिनिधिहरूलाई चियापानमा सहभागी गराएर स्वागत गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९औँ सम्मेलनमा सहभागी हुन आएका नेपाली कांग्रेस निकटका प्रतिनिधिहरूलाई महामन्त्री डा.कोइरालाले चियापानको आयोजना गरी स्वागत गरेका हुन् ।

काठमाडौंको महाराजगञ्जस्थित निवासमा डा.कोइरालाले शनिबार साँझ चियापान कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रममा सहभागी कांग्रेसका नेताहरूले जित र हार स्वभाविक भएको भन्दै चिन्ता नलिन सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा जनसम्पर्क समितिका प्रतिनिधिहरूका साथै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, धनराज गुरुङलगायतका नेताहरूको उपस्थिति थियो ।

चियापान कार्यक्रममा एनआरएनएको निर्वाचनमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षका प्रत्यासी रहेका कुल आचार्य पनि सहभागी थिए ।

नेपाली कांग्रेस नेता गगन थापाले पनि जनसम्पर्क समितिका सदस्य तथा प्रतिनिधीहरूलाई चियापानको कार्यक्रममा बोलाएर स्वागत गरेका छन् ।

थापाले वर्तमान सरकार कम्युनिष्ट व्यवस्था स्थापना गर्न लागिपरेको बताए ।

‘यो सरकार कम्युनिष्ट सरकार चलाउन नभइ कम्युनिष्ट व्यवस्था स्थापित गर्न लागिपरेको छ’, उनले भने, ‘सरकार मात्र नभइ राज्यका सबै अंगलाई कम्युनिष्टकरण गर्न लागिपरेको छ ।’

चियापानमा एनआरएनएका अध्यक्षमा पराजित कुल आचार्यले सबै मतदाताहरूलाई धन्यवाद दिए । उनले आरोप प्रत्यारोपमा नलागी सुदृढ एनआरएनए बनाउनेतर्फ लाग्न आग्रह गरेका छन् ।

एनआरएनएको निर्वाचनमा नेपाली कांग्रेस निकटका प्रतिनिधिहरूले अन्तरघात गरी सत्तारुढ नेकपाका उम्मेदवार कुमार पन्तलाई साथ दिएका थिए ।

कम्युनिस्टलाई साथ दिनेको सूचीमा पहिलो नम्बरमा जीवा लामिछानेको नाम छ ।

Published : Sunday, 2019 October 20, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया