ओलीबाट धोका पाएका प्रचण्डलाई छट्पट्टी, पोखरेलको घरमा पुगे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई धोका भएको भन्दै गुनासाहरू गर्न थालेका छन् ।

पूर्वसहमति अनुसार पार्टीको जिम्मेवारी नपाएका प्रचण्डले ओलीबाट धोका पाएको गुनासो गर्न थालेको स्रोतले जनाएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने बेला भएको सहमतिअनुसार ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी वा सरकारको जिम्मेवारीमध्ये एक दिने भन्ने थियो । ओली अहिले प्रधानमन्त्री छन् । पार्टीको अध्यक्ष समेत रहेका ओलीले नेकपाको कमाण्डिङ पनि आफै गर्दै आएका छन् ।

ओलीको कार्यशैलीबाट प्रचण्ड दिक्क भएको माओवादी पृष्ठभूमि भएका नेताहरूले बताएका छन् ।

दशैँ सकिनेवित्तिकै प्रचण्डले एमाले पृष्ठभूमि भएका नेताहरूलाई भेटेर ओलीबाट धोका भएको गुनासो गरेका हुन् ।

केही दिनअघि नेकपाको सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई उनकै धापासीस्थित घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेका हुन् ।

बिगतमा प्रचण्ड र पोखरेलबीच विवाद थियो । विशेष गरेर उनीहरूका बीच जनताको बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो ।

पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र निकटका नेताहरूले जोड गरेका थिए । पछि ओली–प्रचण्डको सहमतिमा पोखरेलले स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो ।

पछिल्लो समय प्रचण्ड र पोखरेलबीच सम्बन्ध मधुर बनेको छ ।

पोखरेलको निवासमा प्रचण्ड भेटघाट हुँदै गर्दा नेकपा ओखलढुंगाका कार्यकर्ताहरू पनि पोखरेलकै निवासमा पुगेका बेला प्रचण्ड–पोखरेलबीचको सम्बन्ध देखेर आश्चर्य चकित गरेका थिए ।

आलोपालो प्रधानमन्त्री ओलीले चाहेको विषय नभएकाले पनि पूर्वमाओवादी पक्ष सशंकित बनेको छ ।

प्रचण्डले पोखरेलसँग भेटघाट गरेको दुई दिनपछि नेताद्वय वामदेव गौतम र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेता गौताम वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका थिए ।

गौतमले पार्टी अध्यक्ष ओलीले आफूलाई प्रस्तावित उपाध्यक्ष भनेको तर स्थायी कमिटीको बैठक बोलाएर अहिलेसम्म अनुमोदन नगराएको भन्दै दुखेसो पोखेका थिए ।

ओली उपचारका लागि सिंगापुर गएका बेला प्रचण्डले नेकपाको कार्यकारीको अधिकार प्रयोग गरेर सचिवालयको बैठकसमेत राखेर अन्तरपार्टी निर्देशन जारी गर्ने र केन्द्रीय सदस्यहरू थप गर्ने निर्णय गराएका थिए ।

प्रचण्डले त्यसपछि पार्टी आफूले र सरकार ओलीले सञ्चालन गर्ने सहमति भएको दाबी गर्दै आफूनिकट नेताहरूलाई सरकारमा सहभागी गराउने आश्वासन दिएका थिए ।

सिंगापुरबाट फर्केर आएपछि ओलीले प्रचण्डलाई त्यस्तो कुनै मौका दिएका छैनन् ।

प्रचण्डले पार्टी सञ्चालन गर्न पाउनुपर्ने वा प्रधानमन्त्री पाउनुपर्ने माग गरिरहेका बेला स्वास्थ्योपचारका क्रममा सिंगापुर जानुअघि ओलीले प्रचण्डलाई बैठक सञ्चालन गर्ने अधिकार दिएर मख्ख पारेका थिए ।

अहिले अधिकारविहीनजस्तै भएपछि धोका भएको महसुस प्रचण्डले गरेका छन् ।

प्रचण्ड–पोखरेलबीचको भेटघाटमा सरकारमा रहेका केही मन्त्री हटाउने विषयमा पनि छलफल भएको थियो ।

Published : Sunday, 2019 October 20, 10:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया