कम्युनिस्टको दम्भ तोड्ने शक्ति तरुणसँग, तयार रहन कांग्रेस नेताहरूकाे निर्देशन (तस्वीर)

ललितपुर । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले दुईतिहाइको दम्भका कारण मुलुकमा कम्युनिस्ट सत्ता ल्याउन खोजिएको भन्दै त्यसलाई रोक्ने ताकत युवा तरुणमा रहेको बताएका छन् ।

नेपाल तरुण दल ललितपुर क्षेत्र नम्बर १ ले शनिबार चापागाउँमा आयोजना गरेको चियापान कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रममा डा.महतले कम्युनिस्टहरूको अधिनायकवादलाई परास्त गर्नुपर्ने बताए ।

‘जनताले दिएको दुईतिहाएको बहुमतलाई कम्युनिस्टहरूले दुरुपयोग गर्न थालेका छन्’, उनले भने, ‘मुलुकमा कम्युनिस्ट शासन ल्याउने प्रयास भइरहेको छ । कांग्रेसका लागि यो स्वीकार्य छैन ।’

कम्युनिस्ट अधिनायकवादको अन्त्य र जनताको अधिकारका लागि युवा तरुणहरूले खबरदारी गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्ट सरकारमा बहुमतको उन्माद रहेको बताए ।

‘यो कम्युनिस्ट सरकार जनताका काम गर्नेभन्दा पनि आफ्नै सेवा सुविधा बढाउनतिर लागेको छ’, उनले भने, ‘निर्वाचनमा जनता समक्ष गरेका बाचालाई पूरा गर्नुपर्छ ।’

कांग्रेसका केन्द्रीय सदस्य पौडेलले नेपाली कांग्रेसलाई जबरजस्त संगठनात्मक पार्टी बनाउनुपर्ने बताए ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणाले संघीयताको मर्म विपरित दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले सबै शक्ति केन्द्रमा केन्द्रिकृत गरेर राखेको बताए ।

‘संविधानले सबै प्रदेशलाई अधिकार दिएको छ’, उनले भने, ‘सातमध्ये छ वटा प्रदेशमा कम्युनिस्टहरूकै सरकार छ । तर, आफ्नै दलको सरकारलाई विश्वास नगरेर प्रधानमन्त्रीजीले सबै शक्ति आफूमा केन्द्रित गर्नुभएको छ ।’

सरकारको आलोचना गर्ने र विरोधीहरूलाई निशाना बनाउन सक्रिय रहेको भन्दै राणाले भने, ‘कम्युनिस्ट सरकारले आफ्नो आलोचना सुन्न चाहँदैन । विरोधीहरूलाई ठेगान लगाउन सक्रिय भएको छ ।’

ललितपुर जिल्लामा भएका विकासका योजनाहरूलाई कम्युनिस्ट जनप्रतिनिधिहरूले कार्यान्वयन गर्न नसकेको भन्दै राणाले भएका सडकलाई पनि मर्मत सम्भार गर्न नसकेको बताए । पूर्वसांसद समेत रहेका राणाले वर्तमान सरकार हरेक ठाउँमा चुकेको आरोप लगाए । ‘यो सरकारबाट जनताले अपेक्षा गर्न छाडेका छन्’, उनले भने ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तरुण दलभित्र विवाद रहेको स्वीकार गर्दै अराजक हर्कत गर्ने छुट कसैलाई नरहेको चेतावनी दिए । उनले भने, ‘संगठनको हित र विधान विपरित कसैले गतिविधि गर्छ भने कारबाही पक्कै पनि हुन्छ ।’

नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले कम्युनिस्टहरूले जनतालाई झुक्काएर जितेको भन्दै अहिले आएर निर्वाचनमा गरेको बाचा अनुसार कुनै पनि काम नभएको बताए । ‘कांग्रेस एकजुट भएर संगठन बनाउनुपर्छ’, उनले भने, ‘अबको निर्वाचनमा कम्युनिस्टहरूलाई पत्तासाफ गराउनुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता एवम् तरुण दलका पूर्व केन्द्रीय सदस्य मीनकृष्ण महर्जनले नागरिकको सुरक्षाको जिम्मा तरुण दलले लिने बताए ।

‘यो दुईतिहाई सरकारलाई नेपाली जनताले विश्वास गर्न छाडीसकेका छन्’, उनले भने, ‘चुनावको बेलामा कम्युनिस्टलाई भोट हालेर अहिले नेपाली जनता पछुताइरहेका छन् ।’

‘कम्युनिस्टलाई नेपाली जनताको भलोका लागि काम गर्छन् की भनेर भोट हालेका थिए’, उनले भने, ‘उल्टो जनतालाई दुःख दिने गरेको कारण जनताहरू नै कम्युनिस्टविरुद्ध चर्को आवाज उठाइरहेका छन् ।’

युवा नेता महर्जनले अहिले देशमा सुशासन नरहेको बताए । ‘महँगीले चरम सीमा नाघी सकेको छ । नेपाली जनता महँगीको कारण बाच्न नसक्ने अवस्थामा पुगीसकेका छन्’, उनले भने, ‘देशमा भ्रस्टाचार बढेको बढै छ । जुनसुकै ठाउँमा अत्याधिक कर लगाइएको छ ।’

‘मान्छेको मृत्यु हुँदा समेत कर तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । न्यायालय पूरै कम्युनिस्टको काण्डै काण्डले भरिएको छ’, महर्जनले भने, ‘भ्रष्टाचारको पुरस्कार पाएको यो सरकारको विकल्प नेपाली जनताले खोजिसकेका छन् ।’

महर्जनले नेपाली कांग्रेसका नेताहरूले कार्यकर्ताहरूको संरक्षण गर्न जरुरी रहेको बताएका छन् । ‘होइन भने किन पार्टीमा जीवन समर्पण गरेर लाग्ने ?’, उनले भने, ‘नेताहरूले कार्यकर्ता संरक्षण र मूल्यांकन नगर्ने हो भने किन पार्टीमा लाग्छन् ?’

कार्यक्रममा नेपाल तरुण दल ललितपुरका अध्यक्ष शिवराम महर्जन लगायतका नेपाली कांग्रेस जिल्ला नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पाँच सयभन्दा धेरै युवा तरुणहरूले मोटर र्‍याली गर्दै कम्युनिस्ट सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

मोटर साईकल र्‍यालीको नेतृत्व तरुण दल गोदावरी नगरपालिकाका अध्यक्ष बिक्रमबहादुर श्रेष्ठले गरेका थिए ।

कार्यक्रमको सभापतित्व तरुण दल क्षेत्रीय सभापति कमल तामाङले गरेका थिए ।

यो क्षेत्रमा तत्कालीन एमालेको तर्फबाट नवराज सिलवालले प्रतिनिधि सभामा जितेका थिए । सिलवालले यो क्षेत्रको सडकको मर्मतदेखि कुनै पनि विकासका कार्यक्रम नगरेको भन्दै युवा तरुणहरूले नारावाजी गरेका थिए ।

उनीहरूले सडक मर्मत तथा सुधारका लागि तिहारपछि आन्दोलन गर्ने चेतावनी दिएको युवा नेता महर्जनले बताए ।

Published : Saturday, 2019 October 19, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया