कम्युनिस्ट बलियो र कांग्रेस कमजोर हुँदा राष्ट्र कमजोर भयाेः खाँण

बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक पार्टी नभई एउटा मोर्चा मात्रै भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस तिलोत्तमा नगर समितिले शनिबार मणिग्राममा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा खाँणले नेकपालाई कम्युनिस्टहरूको मोर्चाको संज्ञा दिएका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टी पार्टी होइन कम्युनिस्टहरूको एउटा मोर्चा हो’, उनले भने, ‘त्यो मोर्चाभित्र कहिल्यै पनि एकता हुन सक्दैन ।’

‘जब–जब आफ्नो अस्तित्व तथा नेतृत्व संकटमा पर्छ तब–तब कम्युनिस्टहरू एक भए पनि शक्ति प्राप्त गरेपछि फेरि फुट्ने र आपसमै लड्ने भएकाले नेकपा कम्युनिस्टहरूको मोर्चा हो’, उनले भने ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता खाँणले कार्यशैली, नीति, दृष्टिकोण तथा सिद्धान्तका कारणले पनि कम्युनिस्टहरूको शासन सत्ता लोकतान्त्रिक पद्धतिमा सफल हुन नसक्ने बताए ।

कम्युनिस्टहरूले मन मष्तिस्कले लोकतान्त्रिक पद्धतिलाई स्वीकार नगरेकाले देश र जनताको हित यो सरकारबाट हुनै नसक्ने खाँणको भनाइ छ ।

उनले नेपालका कम्युनिस्ट र प्रजातान्त्रिक शक्तिबीचको राजनीतिक द्वन्द्वकै कारण कम्युनिस्टहरू लामो समय टिक्न नसक्ने बताए ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउन नसकेको उनले बताएका छन् ।

‘कम्युनिस्टहरू भारतीय प्रधानमन्त्री आए नेपालालाई पूरै मोदीमय बनाउँछन्’, खाँणले भने, ‘चिनियाँ राष्ट्रपति आउँदा सीमय बनाइदिने ।’

नेपाली कांग्रेस नेता खाँणले भारतमा जाँदा मोदी नीति र चीनमा जाँदा सी नीति भनिदिने दोहोरो चरित्रकै कारण नेपालले आजसम्म जोगाउँदै आएको निष्पक्ष नीति, हैसियत तथा अडान खतरामा परेको बताए ।

नेपालमा कम्युनिस्ट सत्ता स्थापित गर्ने कोसिस भइरहेको दावी गर्दै उनले चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच नेपालमा चिनियाँ शासनको प्रयोग गर्ने सम्झौता भएको बताए ।

नेपाली कांग्रेस कमजोर हुँदा राष्ट्र, राष्ट्रियता र लोकतान्त्रिक मूल्य मान्यता कमजोर हुने भएकाले राष्ट्र हितका लागि कांग्रेसलाई सुदृढ र बलियो बनाउने अभियानमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

Published : Saturday, 2019 October 19, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया