एनआरएनएमा अन्तर्घातका कारण लोकतान्त्रिक समूह पराजित, शिशिरको गीतले भक्कानियो पूरै हल

काठमाडौं । कम्युनिस्टहरूको घेराबन्दी र नेपाली कांग्रेस निकटकै केही प्रतिनिधिहरूको अन्तर्घातका कारण गैरआसावीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पराजित भएका लोकतान्त्रिक समूहका अध्यक्ष कुल आचार्यको समर्थनमा काठमाडौंमा धन्यावाद र सहानुभूतिक कार्यक्रम भएको छ ।

नेपाली कांग्रेस निकटका एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेसहितका प्रतिनिधिहरूको अन्तर्घातबाट पराजित भएका आचार्यलाई सहानुभूति दिन काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार राति भएको कार्यक्रममा सहभागीहरू भक्कानिएका हुन् ।

कार्यक्रममा कांग्रेस निकटको समूहले पराजय भोगे पनि निर्वाचनमा सहभागी भएका कारण लोकतान्त्रिक प्रक्रियालाई नेपाली कांग्रेसले स्वीकार गर्ने वक्ताहरूले बताए ।

नेपाली कांग्रेसका केही प्रतिनिधिहरूको अन्तर्घातका कारण एनआरएनएको अध्यक्षसहित अधिकांश पद गुमाएको लोकतान्त्रिक समूहले धन्यावाद दिन कार्यक्रम गरेको थियो ।

कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्षद्वय शेष घले र देवमान हिराचन तथा जमुना घलेको उपस्थिति रहेको थियो ।

‘कांग्रेस हौँ’ भनेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका अध्यक्ष कुमार पन्त समूहलाई विजयी बनाएका कारण लोकतान्त्रिक समूह पराजित भएको कार्यक्रमका प्रवक्ताहरूले बताए । उनीहरूले एनआरएनएमा भएको अन्तरघात र आफ्नै साथीहरूबाट भएको असहयोगका बारेमा समीक्षा गर्नुपर्ने बताए ।

लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार कुल आचार्यले कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई हराउन फर्जी मतदाता बनाएको आरोप लगाए । आफूविरुद्ध भएका सबै हर्कतको विरोध गर्दै उनले निर्वाचनको प्रक्रियामा भाग लिएपछि लोकतान्त्रिक प्रक्रियालाई आफूले स्वीकार गरेको बताए ।

सत्ताको आड र आफ्नै साथीहरूको अन्तर्घात छ भन्ने कुरा पूर्वजानकारी रहेको भन्दै वक्ताहरूले लोकतान्त्रिक समूह पराजित गराउने भित्री षड्यन्त्र भएको जानकारी रहेको समेत बताए ।

लोकतान्त्रिक समूहलाई पराजित बनाउन दुईतिहाइको बलियो कम्युनिस्ट सत्ता लागेको आरोप लगाइएको थियो ।

कार्यक्रममा वरिष्ठ गायक शिशिर योगीले ‘यो देशले एउटा मानिस खोजी रहेछ…’ भन्ने राष्ट्र भावको गीत गाउँदा पूरै हल भक्कानिएको थियो । कार्यक्रममा गायक विमलराज क्षेत्री, कुलेन्द्र बिकसहितले गीत गाएर एनआरएनएका प्रतिनिधिहरूलाई स्वागत गरेका थिए ।

Published : Friday, 2019 October 18, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया