अध्यक्षमा पराजित आचार्यले देखाए लोकतान्त्रिक संस्कार, कम्युनिस्टहरूको पनि मन छोयो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९औँ सम्मेलनमा अध्यक्षमा पराजित कुल आचार्यले आफूलाई साथ, सहयोग र समर्थन गर्ने मतदाता, प्रतिनिधि, अग्रजहरू, शुभेच्छुक संघसंस्था लगायत मिडियाका मित्रहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

एनआरएनको नयाँ नेतृत्वको लागि बिहीबार भएको मतदानको शुक्रबार अन्तिम नतिजा आउनेवित्तिकै आचार्यले आफूलाई सहयोग, समर्थन र मतदान गर्नेहरूलाई धन्यावाद दिएका हुन् ।

‘तपाईंहरू सबैको स्नेह पाउँदा म अत्यन्त खुसी छु र आफूलाई भाग्यमानी ठानेको छु । मैले १५ वर्षको उमेरमा श्रद्धेय पिताजीलाई गुमाएँ । मेरा मातापिताको सामाजिक भावनाबाट प्रेरित भएर सामाजिक कामको शुरुवात गरें । एनआरएनए साँच्चै दुःख परेका तथा देश बाहिर बसोबास गरिरहेका नेपालीलाई सेवा गर्ने संस्था हो भनेर अरु कतै नलागीकन काम शुरु गरें ।’

‘गएको १२ वर्षदेखि निरन्तर संघमा काम गर्दैगर्दा संसारभरि रहनुभएका साथीहरूको माया ममता पाएँ । धेरै सिक्ने मौका पाएँ । सिकेर केही गर्ने प्रयत्न पनि गरें’, उनले, ‘फलस्वरूप एनआरएनएको केन्द्रीय उपाध्यक्षसम्म पुगें । मेरो काम देखेर आदरणीय अग्रजहरू तथा संसारभरिका साथीहरूले मलाई प्रोत्साहन दिनु भयो ।’

‘सबैको आग्रहलाई स्वीकार्दै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरें । जब निर्वाचन प्रक्रिया शुरु भयो, एनसीसी बेलायतमै विवाद उत्पन्न गर्ने प्रयास गरियो’, आचार्यले भनेका छन्, ‘सो विवाद मिलाएर काठमाडौं आउँदै गर्दा सचिवालयको अनियमितता देखेर दुख लाग्यो । संधै सबै कामहरू रातरात अनियमित रुपले अगाडि बढाइयो ।’

‘सदस्यता रजिस्ट्रेशनमा चरम अनियमितता गरिएको जगजाहेर गर्न चाहन्छु । नियमसंगत हुनु पर्ने कामहरूमा पनि अनुनय विनय गर्नुपर्ने अवस्था आयो’, आचार्यले भनेका छन्, ‘फेरि पनि संस्थाको बृहत् हितलाई ध्यानमा राखेर मैले संयम अपनाएँ ।’

‘अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गर्ने काम गरियो । धेरै फर्जी मतदाताहरू तयार गरियो’, उनले भनेका छन्, ‘चुनाव सम्पन्न भई सकेपछि पनि कति मत खस्यो भन्ने विवरण सार्वजनिक गरिएन । विना मुचुल्का मतगणना शुरु गरियो ।’

‘बहालवाला निर्वाचित जनप्रतिनिधि जापानको प्रतिनिधि बनेर मतदान गरेको घटनासहित नेपाल फर्कीसकेका सैयौं व्यक्तिहरूलाई मतदाता नामावलीमा समावेश गरी योजनावद्ध ढंगले मतदान प्रक्रियामा सहभागी गराइयो’, उनले भनेका छन्, ‘यी सबै अनियमतिताहरूलाई सहँदै, मेरो छाती ठूलो बनाउँदै, विभिन्न कानूनी प्रक्रियामा जान सक्ने अवस्था हुँदाहुँदै पनि म एनआरएनएको बृहत्तर हितका लागि अस्वभाविक भएपनि प्रक्रिया स्वीकार्दै भविष्यमा पनि निरन्तर रुपमा क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्दछु ।’

‘सबै एनआरएनहरूलाई समेट्ने गरी बलियो गैर आवासीय नेपाली संघ बनाउन मैले जोड दिंदै आएको छु’, उनले भने, ‘यो अभियानमा मलाई साथ र समर्थन दिनु हुने सबै मित्रहरू तथा अग्रजहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु । हाम्रो तर्फबाट केही कमी, कमजोरी भएको भए साथीहरूसंग क्षमायाचना गर्दछु ।’

‘आगामी दिनमा पनि तपाई सबै साथीहरूको यसै गरी माया र सहयोग पाइरहने विश्वास लिएको छु’, आचार्यले भनेका छन्, ‘संघको केन्द्रीय कार्य समितिमा निर्वाचित मेरा मित्र कुमार पन्त लगायत सम्पूर्ण निर्वाचित साथीहरूलाई हार्दिक बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना दिन चाहन्छु ।’

‘मेरो टिममा रहेर मेरो चुनावी अभियानमा सघाउनु हुने मेरा परिवारजन, युके तथा संसारभरिका मित्रहरु र सीमित श्रोत साधनका बावजुद दिनरात खट्नु हुने नेपालस्थित साथीहरुप्रति म हृदयदेखि नै आभार व्यक्त गर्दछु’, उनले भनेका छन् ।

आचार्य एनआरएनएको निर्वाचनमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षको उम्मेदवार बनेका थिए ।

उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहबाट अध्यक्षको उम्मेदवार बनेका कुमार पन्तसँग झिनो मतअन्तरले पराजित भएका थिए ।

आचार्यलाई एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेसहित अमेरिकामा बसोबास गर्ने नेपाली कांग्रेस निकटका प्रतिनिधिहरूले असहयोग गरेका थिए ।

आचार्यलाई पराजित गर्न सत्तारुढ नेकपाका नेता तथा सरकारका मन्त्रीहरू नै सक्रिय भएर लागेको आरोप छ ।

Published : Friday, 2019 October 18, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया