तरुण दलले कात्तिक १० गते देशैभरि स्थापना दिवस भव्य रुपमा मनाउने

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले संविधानले दिएका अधिकारलाई संकुचित गर्ने प्रयासहरू गरिरहेका बेला नेपाल तरुण दलले आफ्नो ६६औँ स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

काठमाडौंस्थित आफ्नै केन्द्रीय कार्यालयमा शुक्रबार बसेको तरुण दलको केन्द्रीय कार्यसमितिको बैठकले ६६औँ स्थापना दिवस भव्य रुपमा देशैभरि मनाउने निर्णय गरेको हो । स्थापना दिवस ७४ जिल्लामै मनाउन निर्देशन तरुण दलले दिएको छ ।

नेपाल तरुण दलको स्थापना दिवस यही कात्तिक १० गते परेको छ । तरुण दलले राजधानीमा काठमाडौं, भक्तपुर र ललितपुरसहित केन्द्रको आयोजनामा नेपाली कांग्रेसको पार्टी मुख्यालय ललितपुरस्थिात सानेपामा चियापान तथा शुभकामना आदान प्रदानको कार्यक्रम राखेको उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

बैठकमा अध्यक्ष जितजंग बस्नेतले सबै जिल्लाहरूलाई स्थापना दिवस भव्य रुपमा मनाउन निर्देशन दिएका छन् ।

चियापान र व्यवस्थापनका लागि तरुण दलले विभिन्न उपसमितिहरू बनाएको छ । तयारीका लागि अध्यक्ष जितजंग बस्नेतले नेताहरूलाई जिम्मेवारी दिएका छन् ।

चियापान कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाका नेताहरूको उपस्थिति हुने उपाध्यक्ष चापागाइँले बताए ।

नेपाल तरुण दलले ७४ जिल्लामा रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी मनाउन पनि जिल्ला कार्यसमितिहरूले परिपत्र गरेको छ ।

बैठकमा अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वाव गुरुङको सहभागिता रहेको थियो ।

Published : Friday, 2019 October 18, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया