कम्युनिस्टको पुच्छर बनेका एनआरएनएका पूर्वअध्यक्षहरूद्वारा खुसीयालीमा मदिरा सेवन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार कुमार पन्तलाई सहयोग गरेपछि चार जना पूर्वअध्यक्षहरू मदिरा सेवन गरेर खुसीयाली साटेका छन् ।

बिहीबार राति काठमाडौंको सुविधासम्पन्न महँगो होटेलमा एनआरएनएका पूर्वअध्यक्षहरू जीवा लामिछाने, शेष घले, देवमान हिरासचन र भवन भट्टले मदिरा सेवन गरेर खुसीयाली साटेका हुन् ।

यो समूहले प्रगतिशील समूहबाट अध्यक्षका उम्मेदवार बनेका कुमार पन्तलाई साथ दिएको नेपाली कांग्रेस निकटका प्रतिनिधिहरूले आरोप लगाएका छन् ।

जीवा लामिछानेलाई नेपाली कांग्रेसका नेताहरूले लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार कुल आचार्यलाई सहयोग गर्न निर्देशन दिएका थिए ।

तर, लामिछानेले कम्युनिस्ट उम्मेदवार कुमार पन्तलाई जिताउन आफूले प्रतिवद्धता गरेको भन्दै कांग्रेसका नेताहरूलाई सानेपामा भएको चियापानको कार्यक्रमका दिन ठाडै जवाफ दिएका थिए ।

राजनीतिक विचारका रुपमा यी चारै जना नेपाली कांग्रेस निकट रहेको चर्चा छ । तर, उनीहरूले नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार बनेका कुल आचार्यलाई साथ दिएनन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले समेत एनआरएनएको निर्वाचनमा प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार कुमार पन्तलाई कुनै पनि हालतमा विजयी बनाउन निर्देशन दिएको चर्चा मतदानस्थलमा बिहीबार दिनभरि चलेको थियो ।

कांग्रेसका कुल आचार्यलाई हराउन एनआरएनएका अध्यक्ष भवन भट्टसहितका पूर्वअध्यक्षहरूले झण्डै तीन सय फर्जी मतदाता बनाएका थिए ।

बिहीबार साँझ मदिरा सेवन गरेर खुसीयाली साटेका उनीहरू सबै कुमार पन्तका व्यापारिक साझेदार हुन् । उनीहरूले कुमार पन्तको पक्षमा भोट मागेर व्यापारिक साझेदारको धर्म निभाएका छन् ।

विदेशमा बस्नेहरूको विश्वास हुँदैन भन्ने कुराको पुष्टि एनआरएनएको निर्वाचनमा नेपाली कांग्रेस निकटका प्रतिनिधिहरूले देखाएका छन् ।

नेपाली कांग्रेस निकटका केही प्रतिनिधिहरू कम्युनिस्टका उम्मेदवारको पक्षमा खुलेरै लाग्नुका साथै सोही प्यानलबाट उम्मेदवार बनेका थिए ।

Published : Thursday, 2019 October 17, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया