एनआरएनएमा पन्तको प्रगतिशील समूहका सचिव सुन तस्करका आरोपी

काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहबाट सचिवमा उम्मेदवारी दिएका राजेन्द्रकुमार शर्मा (आरके शर्मा) सुन तस्करीसहित विभिन्न काण्डमा मुछिएको व्यक्ति रहेको खुलेको छ ।

शर्माले प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार कुमार पन्तलाई साथ दिएका छन् । पन्तको समूहबाट शर्माले सचिवमा उम्मेदवारी दिएका हुन् ।

एनआरएनको मध्यपूर्व संयोजक रहेका बेला शर्मा कतारमा पक्राउ परेका थिए । कतार प्रहरीले उनलाई आरके शर्माको नामबाट पक्राउ गरेको थियो ।

पेगोन इन्जिनियरिङ कम्पनीको सञ्चालकसमेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको त्यस बेला नेपाली राजदूतावासले जनाएको थियो ।

शर्मामाथि कतार प्रहरीले तस्करीको बारेमा अनुसन्धान गरिरहेको छ । शर्मा अहिले पनि कतार प्रहरीको निगरानीमा छन् ।

तत्कालीन समयमा गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेले शर्मामाथि लागेको आरोपको पुष्टि भइनसकेको बताएका थिए ।

शर्मा पक्राउ परेको अघिल्लो दिन कतारमा भएको सांगीतिक कार्यक्रममा प्रस्तुत गरिएको नाटकका कारण पनि शर्मा पक्राउ परेको हुनसक्ने आशंका त्यस बेला गरिएको थियो ।

मनोरञ्जनात्मक कार्यक्रममा कतारीले नेपाली कामदारमाथि गरेको दुर्व्यवहार नाटकमा प्रस्तुत गरेको बताइएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि शर्मा बनेका थिए ।

Published : Wednesday, 2019 October 16, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया