अर्काकी पत्नी ताक्ने महरा अरु तीन दिन हिरासतमा बस्ने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का निलम्बित सांसद एवम् निवर्तमान सभामुख कृष्णबहादुर महरालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिदिको छ ।

प्रहरीले मंगलबार महरालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।

न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले यसअघिको १० दिन म्याद थप गरेको थियो । दाहालले महरालाई पुनः तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् ।

महरालाई प्रहरीले रातो नम्बर प्लेटको गाडीमा चढाएर अदालतमा लगेको थियो ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा असोज १९ गते महरालाई प्रहरीले पक्राउ गरेको थियो ।

आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पीडित महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ ।

प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला अदालत काठमाडौं लगेको थियो । महरालाई पुनः अस्पतालकै बेडमा लगेर राखिएको छ ।

महराले आफूलाई जबर्जस्ती यौन दुर्व्यवहार गरेको भन्दै महिलाको भिडियो सार्वजनिक भएपछि सभामुख पदबाट राजीनामा दिएका थिए ।

उनलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राजीनामा दिन सुझाव दिएको थियो । महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रहरीले पक्राउ गरेसँगै महराको सांसद पद पनि निलम्बनमा परेको छ ।

Published : Tuesday, 2019 October 15, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया