यात्रुलाई दुःख दिने बुद्ध एयर र कर्मचारी तह लगाउने सांसद साह पक्राउ

काठमाडौं । प्रहरीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद प्रमोदकुमार साहलाई पक्राउ गरेको छ ।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले मंगलबार सांसद साहलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ गरेको थियो ।

सांसद साहलाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले मंगलबार अनुमति दिए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतसँग अनुमति माग गरेको थियो ।

साह प्रतिनिधि सभामा सर्लाहीबाट निर्वाचित सांसद हुन् । साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोप छ ।

सोमबार बिहान ११:४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि साह आवेशमा आएका थिए ।

व्यवस्थापन पक्षले लापरबाही गरेका कारण बिरामी यात्रुले दुःख पाएको भन्दै सांसद साहले जनप्रतिनिधिको हैसियतले बुद्ध एयरका कर्मचारीसँग सोधपुछ गरेका थिए ।

कर्मचारीहरूले राम्रोसँग जवाफ नदिएपछि आक्रोशित भएका सांसद साहले काउन्टर तोडफोड गरेको जनाइएको छ ।

अढाइ बजे बुद्ध एयरको जहाज विमानस्थलमा आएपछि सांसद साह शान्त भएपनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन् ।

राजपाका महासचिव केशव झाले सांसद साहलाई पक्राउ गरिएकोमा आक्रोश व्यक्त गर्दै राज्यको तानाशाही प्रवृत्तिको संज्ञा दिएका छन् ।

‘जनकपुर एयरपोर्टमा बुद्ध एयरको जहाज तीन घण्टा ढिलो भएपछि किड्नीको एकजना बिरामी छटपटाउन थालेपछि जनप्रतिनिधिको हैसियतले काउन्टरमा सोध्न जाँदा काउन्टरको प्रतिनिधिले उल्टै धमकाउन थालेपछि सामान्य धकमधक्का भएको हो’, उनले भनेका छन् ।

‘त्यस घट्नालाई अतिरन्जित बनाइ राज्यको माथिल्लो निकायबाट जबर्ज्स्ति मुद्दा दर्ता गराई राज्यले तानाशाही चरित्र देखाएको छ’, झाले भनेका छन्, ‘त्यसपछि सांसद प्रमोद साहलाई जहाजमा चढ्न नदिने भनेर बुद्ध एयरका कर्मचारीले बदमासी पनि गरेका थिए । स्मरण रहोस् त्याहाँको एयरपोर्टमा कहिल्यै जहाजहरू समयमा आउँदैन ।’

‘अस्ति नेपालगञ्जमा पनि त्यही कारणले आमनागरिकले बिरोध गरेको हो’, महासचिव झाले भनेका छन्, ‘राज्यले जनताको सरोकार पूरा नगर्ने अनि उल्टै आवाज उठाउनेलाई दण्ड दिन खोज्ने चरित्रलाई जनताले कदापि स्वीकार्न सक्दैन ।’

प्रहरीले सांसद साहलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाए पनि समयमा उडान गर्ने बुद्ध एयर, भीआइपी कक्ष फोहर राख्ने, यात्रुलाई दुर्व्यवहार गर्ने कर्मचारीलाई भने के कारबाही गरेको केही भनिएको छैन ।

बुद्ध एयरले एक पटक मात्रै होइन पटक–पटक उडानमा लापरबाही गरेर यात्रुलाई समयमा नउडाएको धेरै गुनासो छ ।

केही हप्ता अगाडि बुद्ध एयरले नेपालगञ्जमा पर्यटनमन्त्री योगेश भट्टराई एक घण्टाभन्दा धेरै समय कुरेर विमानभित्र प्रवेश गरिसकेका यात्रुलाई सास्ती दिएको थियो ।

घटनापछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको थियो ।

Published : Tuesday, 2019 October 15, 4:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया