आचार्य समूहको उम्मेदवारी घोषणाले कम्युनिस्टहरूभित्र खैलाबैला

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आचार्यले एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘म कुनै पनि दलको उम्मेदवार होइन । म एनआरएनए हुँ’, उनले भने, ‘लोकतन्त्रप्रति मेरो आस्था छ । मलाई सबै साथीहरूको माया छ ।’

एनआरएनएलाई सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा संस्था बनाउने आफू प्रमुख योजना रहेको आचार्यले बताए ।

झन्झटमुक्त गैर आवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधारमा भिजन २०२० एन्ड वियोड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई उनले प्राथमिकताका साथ अगाडि सारेका छन् ।

आचार्यले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पूर्ण गैह्र आवासीय नेपाली समुदायको चाहाना अनुसार पारित गराउन ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

आचार्यले समूहबाट उपाध्यक्षहरूमा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका), महासचिवमा जानकी गुरुङ (बेल्जियम) र कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार थिए । सहमतिपछि गुरुङलाई महासचिवमा समर्थन गरेर आफू उपाध्यक्ष उठेको उनले जानकारी दिएका छन् ।

आचार्यको समूह नेपाली कांग्रेस निकटको मानिन्छ । आचार्यको समूहभित्र देखिएको विवादलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरूले समाधान गरिदिएका थिए ।

उता, एनआरएनएको अध्यक्षमा कुमार पन्तले पनि नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । पन्त सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका मानिन्छन् । उनी पूर्वएमाले निकटका हुन् ।

पन्तलाई दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको आशीर्वाद रहेको चर्चा छ ।

मंगलबारदेखि शुरु हुने गैरआवासीय नेपाली संघको ९ औँ विश्व सम्मेलनले आगामी कार्याकालका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ । सम्मेलन तीन दिन चल्नेछ ।

Published : Monday, 2019 October 14, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया