भोजपुरमा कम्युनिस्टको ‘जरो’ उखेल्न शुरु, दशैँमा कांग्रेसका नेताहरूले दिए सन्देश

काठमाडौं । भोजपुर कांग्रेसका नेताहरूले पहिलो पटक काठमाडौंमा दशैँको टीका र आशीर्वाद लिएर मनाएका छन् ।

विगतमा यो परम्परा नरहे पनि भोजपुर कांग्रेसका सभापति नन्दमणि राई, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँले यस पटक दशैँलाई विशेष रुपमा मनाएका हुन् ।

दशैँको टीकालाई पनि भोजपुर कांग्रेसका नेताहरूले संगठन र भ्रातृत्वमा परिणत गर्न खोजेका छन् । तरुण दलका उपाध्यक्ष चापागाइँले भने, ‘यस पटकको दशैँमा थोरै नेता तथा कार्यकर्ताले टीका र आशीर्वा दिएका छौँ । तर, यसले राम्रो र सकारात्मक सन्देश दिएको छ ।’

सभापति राई र उपाध्यक्ष चापागाइँले काठमाडौंमा दशैँलाई आफ्नै मौलिक रुपमा मनाएपछि नेपाली कांग्रेसका कार्यकर्तामा सकारात्मक सन्देश गएको जनाइएको छ ।

भोजपुर जिल्ला कम्युनिस्टहरूको गढका रुपमा परिचित छ । नेपाली कांग्रेसले शुरु गरेको पहिलो र दोस्रो चरणको दुई वटा कार्यक्रमपछि भोजपुर जिल्लामा संगठनमा थोरै भएपनि सुधार भएको दाबी कांग्रेसको छ ।

सभापति राई र उपाध्यक्ष चापागाइँले अबका दिनमा भोजपुर जिल्लालाई कांग्रेसको बलियो पकडका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

केन्द्रको हस्तक्षेप र शीर्ष नेताहरूको व्यक्तिगत इच्छाका कारण भोजपुर जिल्लामा कांग्रेसले भने जस्तो काम गर्न सकेको छैन ।

केन्द्रीय नेतृत्वले स्थानीय नेता तथा कार्यकर्ताको भावना बुझेर जिम्मेवारी दिने हो भने भोजपुरबाट कम्युनिस्टहरूलाई लखेट्न सकिने तरुण दलका उपाध्यक्ष चापागाइँले बताए ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले भोजपुरमा राम्रो सफलता प्राप्त गरेको छ ।

नेपाली कांग्रेस भोजपुरका सभापति राईले केन्द्रबाट जथाभावी हस्तक्षेप र दवाव नहुने हो भने जिल्लामा कांग्रेसको राम्रो पकड हुने बताए ।

‘पार्टीको हितभन्दा पनि व्यक्तिगत स्वार्थलाई ध्यान दिँदा समस्या भएको छ’, राईले भने, ‘कांग्रेसलाई बचाउने हो भने भोजपुरका लागि केन्द्रबाट धेरै दवाव र हस्तक्षेप हुनु हुँदैन ।’

भोजपुर जिल्ला राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मघर भएको जिल्ला हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि भोजपुर जिल्लाकै हुन् । भोजपुरमा कम्युनिस्टहरूले जरो गाडेका छन् ।

कम्युनिस्टहरूको यो जरोलाई उखेलेर फाल्ने अभियानमा सभापति राई, युवा नेता चापागाइँसहित भोजपुर कांग्रेसका नेता तथा कार्यकर्ताहरूले अभियान शुरु गरिसकेका छन् । अभियानमा सफल हुने नेता तथा कार्यकर्ताको विश्वास छ ।

Published : Monday, 2019 October 14, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया