कांग्रेसको चियापान आज, कार्यकर्ता र शुभेच्छुकमा उमँग

काठमाडौं । नेपाली कांग्रेसले आज (आइतबार) कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदानको कार्यक्रम गर्दै छ ।

विक्रम संवत ०३३ मा जननेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि विक्रम संवत ०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान समारोह गर्दै आएको छ ।

चियापान कार्यक्रमलाई नेपाली कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा असोज २६ गते अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, मजदुर, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहनेछ ।

चियापानलाई व्यवस्थित बनाउन नेपाल तरुण दलसहितका भ्रातृ संस्थाले पहल लिएका छन् । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँका अनुसार चियापानलाई भव्य र सभ्य बनाउन तरुण दलका स्वयं सेवक परिचालन हुनेछन् ।

नेपाली कांग्रेसका जिल्ला कार्यसमितिहरूले पनि आजै चियापान गर्नेछन् । सानेपामा चियापान तथा शुभकामना कार्यक्रम दिउँसाे २ देखि ५ बजेसम्म हुनेछ । जिल्लामा पनि साेही अनुसार कार्यक्रम हुनेछ ।

Published : Sunday, 2019 October 13, 6:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया