चिनियाँ राष्ट्रपतिलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको छ ।

शनिबार साढे चार बजे आफ्नै जहाज चढेर आएका सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जहाजकै ढोकाछेउमा पुगेर स्वागत गरेकी हुन् ।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री खड्गप्रसाद ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत मन्त्रीहरू विमानस्थल पुगेका थिए ।

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले गार्ड अफ अनर दिएको छ ।

राष्ट्रपति सी विमानस्थलबाट सोल्टी होटल प्रस्थान गरेका छन् । सीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटपछि राष्ट्रपतिले सोल्टी होटलमा आयोजना गरेको रात्रीभोजमा सी सहभागी हुनेछन् ।

२३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । सी आइतबार १ बजे चीन प्रस्थान गर्नेछन् ।

Published : Saturday, 2019 October 12, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया