सोल्टीमा सीले खाने महँगा पारिकार

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको खाना बनाउने सेफ चीनबाट नै काठमाडौं ल्याइएको छ ।

बिगत एक महिनादेखि काठमाडौंको होटेल सोल्टीमा बसेर खानपिन र नेपाली खानाका बारेमा जानकारी लिएको स्रोतले जनाएको छ ।

सीको खाना चीनकै सेफहरूले बताउनेछन् । शनिबारको रात्रिभोजमा सीलाई नेपाली बारा, कुरिलो र क्वाँटी खुवाइनेछ ।

दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं ओर्लन लागेका चिनियाँ समकक्षी सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले होटेल सोल्टीमा रात्रिभोज आयोजना गरेकी छिन् ।

शनिबार राति साढे ७ बजेदेखि शुरू हुने रात्रिभोजमा एपिटाइजर, सुप, मेन कोर्ष, डिजर्ट गरी चार तहको खाना परिकार व्यवस्था गरिएको स्रोतले जनाएको छ ।

राष्ट्रपति सीलाई दिइने रात्रिभोजमा नेपाली, युरोपेली र चिनियाँ गरी तीन स्वादको मिश्रण रहनेछ ।

रात्रिभोजमा सी भ्रमण दलमा रहेका चिनियाँ उच्च अधिकारी, नेपालबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख र केही व्यवसायी रहनेछन् ।

रात्रिभोजमा २५० जना सहभागी हुनेछन् । त्यसबाहेक अन्य १५० जनाका लागि समेत सोल्टीमा खानपिनको व्यवस्था गरिएको छ ।

राष्ट्रपति बस्ने सोल्टीको स्वीट रुममा किचेनसहित बैठक, मास्टर बेडरुम र सुरक्षागार्ड रुम छन् ।

सोही किचनमा राष्ट्रपति सीका लागि चीनबाट ल्याइएका परिकार पाक्ने स्रोतले जनाएको छ ।

Published : Saturday, 2019 October 12, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया