‘काण्डकारी’ महरा महँगो अस्पतालमा भर्ना, हत्कडी र नेल लगाइएन

काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि सभामुख र सांसद पद दुबै गुमाएका कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ ।

बिहीबार सरकारी वकिलको कार्यालयमा बयान लिएपछि महरालाई अस्पताल लगिएको स्रोतले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका महरालाई श्वास फेर्न गाह्रो भएपछि बिहीबार दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महरा उच्च रक्तचाप र मधुमेहबाट पीडित छन् । यसअघि महरालाई हिरासतमा अक्सिजन दिएर राखिएको थियो ।

बिहीबार बिहानदेखि उहाँलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

अकार्की पत्नी समेत रहेकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको अभियोगमा महरा असोज १९ गते महाअष्टमीको दिन सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेको थिए ।

महरालाई नर्भिक अस्पतालमा हत्कडी लगाएर राखिएको छ वा छैन केही जानकारी दिइएको छैन ।

हिरासतमा रहेको व्यक्तिको उपचार गराउँदा हत्कडी वा खुट्टामा नेल लगाउने कानूनी व्यवस्था छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा उपचार गराउने क्रममा खुट्टामा नेल लगाइएको थियो । महरालाई चौधरीलाई जस्तै नेल लगाइएको छ वा छैन बाहिर केही भनिएको छैन ।

स्रोतका अनुसार महरालाई भीआईपी सरहको सुविधा दिइएको छ । साथै उनलाई हत्कडी र नेल नलगाएर अस्पतालमा उपचार गराइएको स्रोतको दाबी छ ।

Published : Thursday, 2019 October 10, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया