महराको निवासमा दशैँको पार्टी, ‘झक्कले’ खसी खान पाएनन्

काठमाडौं । अकार्की पत्नीलाई सरकारी निवासमै पुगेर जबरजस्ती करणी गरेको अभियोग लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निलम्बित सांसद कृष्णबहादुर महरा दशैँको खसी खाँदै गर्दा पक्राउ परेका छन् ।

बालुवाटारस्थित सभामुखको सरकारी निवासमा आइतबार साँझ झक्कले खसी काटेर खाँदै गर्दा महरा पक्राउ परेका हुन् ।

पत्नी, छोरा, बुहारी, नाती, नतिना, आफन्त, सहयोगी, सुरक्षाकर्मी आदिसँग बसेर खसी काटेर मासु खाएर रमाइलो गर्दै गरेका बेला प्रहरीको टोली आएर महरालाई पक्राउ गरेको हो ।

आइतबार साँझ करीव पौने ५ बजे प्रहरीको टोली महराको निवासमा पुगेको स्रोतले जनाएको छ । दुई जना प्रहरीले महराको गेट ढकढक्याएर पक्राउ गर्न आएको सूचनाभित्र पठाएका थिए ।

सूचना पठाएको एक घण्टामा पनि महरा बाहिर आउन नमोनपछि थप प्रहरी बोलाएर महराको निवास घेराउ गरिएको थियो ।

प्रहरीको थप टोली भित्रै प्रवेश गरेर आफ्नो गाडीमा राख्न खोजेपछि महराले ‘म तपाईहरुको गाडीमा जान्न, मेरो गाडीमा जान्छु, बरु तपाईहरु मेरै गाडीमा बस्नुस्’ भनेका थिए ।

महराको त्यो आग्रहलाई प्रहरीले स्वीकार गरेको थियो । निवासबाट पक्राउ गरिएका महरालाई बीर अस्पतालमा स्वास्थ्य परीक्षण गराएर सिंहदरबार, बैद्यखानाको महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा लगिएको थियो ।

संसद सचिवालयकी महिला कर्मचारीलाई डेरामै पुगेर जबरजस्ती करणी गरेको अभियोग लागेका महरालाई आफ्नै पार्टी नेकपाको दवावपछि सभामुख पदबाट राजीनामा गर्न लगाइएको थियो । उनलाई सांसद पदबाट पनि राजीनामा दिन भनिए पनि राजीनामा दिएका थिएनन् ।

महराले सरकारी निवास छाडेका थिएनन् । उनले घर खोजे पनि भने जस्तो घर पाएका थिएनन् । डेरा नसर्दै महरा दशैँको टीकाको दुई दिन अगाडि प्रहरीको हिरासतमा पुगेका छन् ।

Published : Monday, 2019 October 7, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया