तरुण दलले कांग्रेसको चियापान भव्य बनाउने, महरालाई पक्राउ गर्न माग

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसले दशैँ, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वहरूका अवसरमा आयोजना गर्न लागेको चियापान कार्यक्रमलाई भव्य र सभ्य बनाउने निर्णय गरेको छ ।

काठमाडौंमा शुक्रबार बसेको नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिका साथै भक्तपुर, ललितपुर र काठमाडौंका जिल्लाका अध्यक्षसहितको बैठकले पार्टीले असोज २६ गते गर्न लागेको चियापनलाई भव्य रुप बनाउने विशेष भूमिका खेल्ने निर्णय गरेको हो ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँको अध्यक्षतामा बसेको बैठकले चियापान कार्यक्रममा स्वयं सेवक परिचालन गर्ने निर्णय पनि गरेको छ ।

उपाध्यक्ष चापागाइँले भने, ‘नेपाली कांग्रेसले असोज २६ गते गर्ने चियापान कार्यक्रमलाई सभ्य र भव्य बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ ।’

बैठकले उपत्यकाका ३ वटै जिल्लालाई आवश्यक्ता हेरेर स्वयंसेवक खटाउने निर्णय गरेको चापागाइँले बताए ।

नेपाल तरुण दलले नेपाली कांग्रेसको चियापानको कार्यक्रमका बेला रक्तदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । चियापानमा सहभागी हुन आउने नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले रक्तदान गरेर बिरामीको उपचारमा सहयोग गर्न सक्ने उपाध्यक्ष चापागाइँले बताए ।

दशैँ जस्तो ठूलो पर्वमा दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनतालाई राहत दिनेभन्दा पनि महँगीको कोशेली दिएर अहत दिएको भन्दै नेपाल तरुण दलले आक्रोश व्यक्त गरेको छ ।

‘यो सरकारले जनतालाई राहत दिन सकेन । दशैँका बेला पनि चरम महँगी, कालोबजारी, भ्रष्टाचार व्याप्त छ’, उपाध्यक्ष चापागाइँले भने, ‘यो कम्युनिस्ट सरकारलाई माफिया र दलालहरूले चलाएका छन् ।’

नेपाल तरुण दलले जनतालाई राहत हुने गरेर २४ घण्टाभित्र व्यवस्था मिलाउन दुईतिहाइको बलियो कम्युनिस्ट सरकारसँग आग्रह गरेको छ ।

नेपाल तरुण दलले देश तथा विदेशमा बस्ने नेपाल दाजुभाई तथा दिदीबहिनीहरूलाई दशैँको शुभकामना पनि दिएको छ ।

प्रतिनिधि सभामा सभामुख जस्तो गरिमामय पदमा बसे महिलालाई जबरजस्ती महिला हिंसा गर्ने गरेको भन्दै नेपाल तरुण दलले आपत्ति जनाएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेर हदैसम्मको कारबाहीको माग पनि तरुण दलले गरेको छ ।

रोशनी शाहीको स्वास्थ्य अवस्था गम्भीर छ भने उचित औषधोउपचार गरेर प्रहरीको संरक्षण वा निगरानीमा राख्न पनि तरुण दलले माग गरेको छ ।

‘डिप्रेशनमा रहेकी महिला कर्मचारीको कोठामा रक्सी बोकेर सभामुख जस्तो व्यक्ति रातिमा जान मिल्छ ?’, तरुण दलले प्रश्न गर्दै भनेको छ, ‘यस्ता हर्कत गर्ने ढोँगी कम्युनिस्ट पार्टीका नेताहरूलाई संविधान र कानूनले व्यवस्था गरिएअनुसार तत्काल पक्राउ गरी हिरासतमा राखेर कारबाही गर्नुपर्छ ।’

महराको यौन काण्ड बाहिर ल्याउने हाम्राकुरा डटकमका सम्पादक एवम् नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीलाई समाचार लेखेकै विषयमा ज्यानमार्ने धम्की दिएकोमा नेपाल तरुण दलले गम्भीर आपत्ति जनाएको छ ।

उपाध्यक्ष चापागाइँका अनुसार समाचारका विषयमा सत्यतथ्य बाहिर ल्याएर सभामुख पदको गरिमा कायम राख्न भूमिका खेल्ने पत्रकार सिवाकोटीमाथि भएको घटनाको विरोध गरिएको छ । उनले सिवाकोटीको शान्ति सुरक्षाको माग गरिएको बताए ।

बैठकमा नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, भक्तुर तरुण दलका अध्यक्ष राजु थापा, ललितपुर तरुण दलका अध्यक्ष शिवराम महर्जन तथा काठमाडौं तरुण दलका सचिव दिनेशबिक्रम शाह र कोषाध्यक्ष अमृत मानन्धरसहितका तरुण नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2019 October 4, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया