कृष्णबहादुर महरा बसेको कुर्सीमा सुवास नेम्वाङ नफर्किने

काठमाडौं । यौनकाण्डमा परेर कृष्णबहादुर महराले सभामुख पद गुमाएपछि त्यो पदमा जान सुवासचन्द्र नेम्वाङले अस्वीकार गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सांसद बनेका महराको राजीनामासँगै सभामुख पदको जिम्मेवारी कसले पाउँछ ? भन्ने चर्चा शुरु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख एकै पार्टीको हुन नहुने भन्दै आएपनि निर्वाचनताका फरकफरक दलबाट निर्वाचित भएर पछिमात्रै पार्टी एकीकरण भएपछि एकै पार्टी नेकपाले नै सभामुख र उपसभामुख पाएको थियो ।

अब भने त्यो सम्भावना छैन । महराले सभामुखबाट राजीनामा दिइसकेको अवस्थामा उपसभामुख नेकपाकै शिवमाया तुम्बाहाम्फे छिन् ।

उपसभामुख आफ्नै पार्टीको भएपनि नेकपा सभामुख अरु पार्टीलाई दिने पक्षमा देखिएको छैन । यस्तो अवस्थामा नेकपाले उपसभामुखलाई समेत राजीनामा दिन लगाउने र दुवैमा निर्वाचन गरेर सभामुख आफूले र उपसभामुख अन्य पार्टीलाई दिने योजना बनाएको छ ।

नेकपाले पार्टीगत बैठक राखेर औपचारिक निर्णय भने गरिसकेको छैन । सम्भवत दसैंको समयमा यसबारेमा निर्णय गरिने सम्भावना रहेको छ ।

शीर्ष नेतृत्वबीच छलफल हुँदा सभामुखमा पूर्व संविधानसभाका अध्यक्ष र सभामुखको समेत ऐतिहासिक जिम्मेवारी पूरा गरेका नेम्वाङको नाम प्रस्ताव गरेको बुझिएको छ ।

शीर्ष नेताहरुको उक्त प्रस्तावलाई नेम्वाङले भने अस्वीकार गरेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकता गर्ने स्प्रिटमा २०७४ साल फागुन २५ गते माओवादी केन्द्रको तर्फबाट महरा सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थालाई समेत मध्यनजर गर्दै तत्कालीन एमालेले शिवमाय तुम्बाहाम्फेलाई उपसभामुख बनाएको थियो ।

तत्कालीन दुई पार्टीबीच सभामुख र उपसभामुख पदको लेनदेन राष्ट्रपति र उपराष्ट्रपति एवम् राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षसँग पनि प्रत्यक्ष जोडिएको छ ।

पछिल्लो पटक कर्मचारीमाथि यौन दुर्व्र्यबहारको गम्भीर आरोप लागेपछि महराले राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त छ ।

Published : Friday, 2019 October 4, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया